रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा एशियाको शीर्ष धनाढ्य मुकेश अम्बानी कान्छा छोरा अनन्त अम्बानीको भाषण सुनेर भावुक हुँदै रोएको दृश्य भाईरल भईरहेको छ ।
आफ्नो प्रि–वेडिङ समारोहमा अनन्त अम्बानीले दिएको भाषण सुनेर मुकेश अम्बानी भावुक बनेका थिए । भिडियोमा अम्बानी कान्छा छोराको भाषण सुनेर भावुक हुँदै ताली बजाएको देख्न सकिन्छ । अनन्तले यसक्रममा आफ्नो स्वास्थ्यसँग जोडिएको समस्याका बारेमा खुलेर बोलेका थिए ।
अनन्त अम्बानीले उक्त अवसरमा आफ्नो जीवन सम्पूर्ण रुपमा गुलावको ओछ्यान जस्तो नभएको बताउँदै यसो भनेका थिए,‘मैले बाल्यवस्थादेखि नै गम्भिर स्वास्थ्य समस्याको सामना गर्दै आएको छु । तर जब म यी समस्यासँग जुधिरहेको थिए तब मेरा आमाबुवाले मलाई बिरामी भएको र रोगसँग संघर्ष गरिरहेको आभाश हुन नै दिनु भएन । उहाँहरु सधै मेरो पक्षमा उभिरहनु भयो र मलाई चाडै निको हुने विश्वास दिलाउँनु भयो ।’
उनले त्यो विषम परिस्थितीमा साथ–सहयोगका लागि आफ्ना आमाबुवाप्रति कृतज्ञता प्रकट गर्दै उनीहरु आफ्ना लागि सबथोक भएको बताएका थिए ।
छोराको यस्तो बचन सुनेर मुकेश अम्बानीले आशु थाम्न सकेनन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह समारोह आगामी जुलाई १२ मा आयोजना हुन लागेको छ । तर विवाह अघिको प्रि–वेडिङ समारोहले विश्वको ध्यान तानेको छ । उक्त समारोहमा सहभागी भएका विश्वभरका चर्चित कलाकार,धनाढ्य,राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरुको जमघटले यतिबेला चर्चा बटुलिरहेको छ । –एजेन्सी