सोमबार, मंसिर ३ गते २०८१

‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग

‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग

अखबार दैनिक
आइतबार, फागुन २० २०८०
  • ‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ । विकास कोषका पदाधिकारीसहितको टोलीले आज यहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कोषको गुरुयोजना बाहिरको सुरक्षा व्यवस्थापनको जिम्मेवारीका विषयमा छलफल गरेको छ । 

    images

    कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी गुरुयोजना क्षेत्र बाहिरको सुरक्षा सशस्त्र प्रहरीमार्फत व्यवस्थापन गर्न माग गरे । यसअघि कोषको बैठकले सशस्त्र प्रहरीको स्थायी बेस क्याम्प स्थापनाको निर्णय गरी गृहमन्त्रालयमा फाइल पठाएको बताउँदै उनले यसबारे थप पहलका लागि ध्यानाकर्षण गराए ।

    छलफलमा गृहमन्त्री श्रेष्ठले सशस्त्रको स्थायी बेस क्याम्प स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले विकास कोषको कामका सन्दर्भमा यसको व्यवस्थापन र विकासका लागि सम्बन्धित मन्त्रालयमा थप पहल गर्ने बताए ।

    छलफलमा उपाध्यक्ष डा.लामाले गुरुयोजना कार्यान्वयन, बृहत्तर लुम्बिनी क्षेत्रको विकासका सन्दर्भमा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताए । छलफलमा कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक आम्दानीबाट खर्च गरिँदै आएको बताउँदै बजेटमा प्राथमिकता दिन आग्रह गरे ।

    कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विकास क्षेत्र संवेदनशील भएकाले यहाँको सुरक्षा संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी बाहिरको सुरक्षा सशस्त्र प्रहरीले गर्नुपर्ने भन्दै अहिले अस्थायी क्याम्प भएकाले यसलाई स्थायी बनाउन अनुरोध गरे ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ