बिहीबार , वैशाख २७ गते २०८१

बाँदरले धेरै दुःख दिएको भन्दै पोखरा महानगरले 'मेरो रुख म काट्छु' अभियान चलाए

बाँदरले धेरै दुःख दिएको भन्दै पोखरा महानगरले 'मेरो रुख म काट्छु' अभियान चलाए

अखबार दैनिक
मंगलबार, माघ १६ २०८०
  • बाँदरले धेरै दुःख दिएको भन्दै पोखरा महानगरले 'मेरो रुख म काट्छु' अभियान चलाए

    बाँदर नियन्त्रण गर्न पोखरामा 'मेरो रूख म काट्छु अभियान'

    images

    पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट बाली जोगाउने भन्दै रुख काट्ने अनौठो अभियान थालेका छन्। यस्तो अभियान चलाउन उनले गण्डकी सरकारले चालु आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमलाई हवाला दिएका छन्।

    ‘आजको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ उनले जारी गरेको सूचनामा उल्लेख छ।

    पोखराको लामाचौर, पुरनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको भन्दै उनले घर वरपरका रुख विरुवा बढेकै कारण बाँदरले दु:ख दिएको तर्क गरेका छन्।

    ‘बाँदरले मान्छेलाई टेर्न छोडिसकयो, धपाएर पनि भाग्दैन,’ उनले भने, ‘घर, बाली वरपरका रुखमा बसिदिने भएकाले रुख काट्ने अभियान थालेको हुँ।’

    उनले घर, खेतबारी वरपर भएका निजी रुख काट्यो भने बाँदर धपाउन सजिलो हुने दाबी गरे। ठूला रुख काटेर साना रुख रोप्ने योजना रहेको उनले सुनाए।

    जंगलमा लब्सी, तिंजुलगायत फलफूलका विरुवा रोप्ने पनि योजना रहेको भन्दै पाण्डेले ठूला रुख काटेर सानो बनाउन थालिएको बताए। ‘हामीले जरासहित रुख काट्ने भनेको होइन, ठूला रुख काटेर सानो बनाउने भनेको हो, अब जंगलमा फलफूल पनि रोप्छौं,’ उनले भने।

    पाण्डेले मात्र होइन, यसअघि २०७४ को निर्वाचनबाट निर्वाचित पोखरा महानगर वडा नम्बर २१ का अध्यक्ष खगराज आचार्यले पनि यस्तै अभियान घोषणा गरेका थिए।

    उनले पनि घर, खेतबारी वरपरका रुख काट्न वडावासीलाई आग्रह गरेका थिए। ‘मेरो घरमा पस्किएको भात पनि बाँदरले खाइदियो, गाउँका खेतीबाली बाँदरले चौपट पारिदिएको छ,’ उनले भने, ‘बाँदर नियन्त्रण गर्न बुटा काट्नुपर्छ भनेर मैले सूचना जारी गर्दा कसैले टेरेनन्।’

    गाउँमा पानी लिन गएका महिलालाई बाँदरले घेरेर कोपर्न खोज्ने, धपाउँदा रुखमा गएर बस्ने गरेकाले रुख काट्ने अभियान ठिक भएका उनको तर्क छ।

    ‘वन विभागका मान्छेहरू तलब मात्र खान्छन्, काम गर्दैनन्,’ उनले भने, ‘राजनीतिक नेतृत्व गति कमजोर भयो कि जंगलमा फलफुल रोप्दै जाँदा वन काटिन्छ भनेर रोप्न दिएनन्।’

    सार्वजनिक हितका लागि आफूले रुख काट्ने ‘कन्सेप्ट’ बनाएको पनि तत्कालीन वडाध्यक्ष आचार्यले बताए। रुख काट्ने अभियान थाल्दा गाउँवासीले साथ नदिएको भन्दै उनले अहिले आएर सबैले ठिक हो भन्न थालेको दाबी गरे।

    बाँदर निण्न्त्रण गर्न रुख काट्ने अभियान संरक्षणकर्मीहरुले हाँस्यास्पद भएको प्रतिक्रिया दिएका छन्।जिल्ला वन कार्यालय कास्कीका प्रमुख पुणेश्वर सुवेदीले रुख काटेर बाँदर नियन्त्रण हुन नसक्ने बताए।

    ‘रुख काटेपछि बाँदर भाग्छ भनेर म पत्याउँदिन, बुझाइको कमी देखिन्छ,’ उनले भने, ‘एकछिन लुक्नका लागि बाँदर रुखमा चढ्न सक्छ, रुख नभए पनि बाली खान बाँदर आइहाल्छ।’

    निजी जमिनमा रहेका रुख विरुवा जग्गाधनीले प्रक्रिया पूरा गरेर काट्न सक्ने कानुनी प्रावधान रहेको उनले बताए। तर बाँदर नियन्त्रणकै लागि रुख काट्ने अभियान चलाउनु गलत भएको उनको भनाइ छ।

    Pokhara-19.gif

    ‘प्रतिबन्धित रुख बाहेक अरु रुख निजी जग्गाधनीले प्रक्रिया पूरा गरेर काट्न सक्नुहुन्छ,’ उनले भने, ‘रुख काट्यो भने बाँदर आउँदैन भन्ने हल्लामा लाग्नु गलत हुन्छ।’

    वडाध्यक्ष पाण्डेले निकालेको सूचनामा प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको हवला दिएका छन्। तर प्रदेशको नीति तथा कार्यक्रममा बाँदर नियन्त्रण गर्ने योजना राखिए पनि यसका लागि रुख काट्ने कुरा उल्लेख छैन।

    बाँदर प्रभावित क्षेत्रमा मासु तथा दुग्धजन्य पदार्थ उत्पादन हुने गरी पशुपालनमा जोड दिने प्रदेशको नीति रहेको योजना आयोग गण्डकीका उपाध्यक्ष कृष्ण देवकोटाले बताए। रुख काटेर बाँदर नियन्त्रण हुने कुरा कल्पनासमेत नगरेको उनको भनाइ छ।

    ‘बाँदर प्रभावित क्षेत्रलाई केन्द्रित गरी प्रदेशभर उच्च सम्भावनाको क्षेत्रमा दुग्ध तथा मासुजन्य उत्पादन लगायत निर्यात प्रवर्द्धन हुने बाली र वस्तु उत्पादनमा आत्मनिर्भर बन्न विशेष कार्यक्रम ल्याइनेछ भनेर नीति तथा कार्यक्रममा लेखिखएको छ,’ उनले भने, ‘यसको अर्थ बाँदर लाग्ने ठाउँमा घाँस खेती गरेर पशुपालनमा जोड दिन खोजिएको हो, रुख काटेर बाँदर नियन्त्रण हुने कुरा होइन।’

    वडाध्यक्ष पाण्डेले रुख काट्ने अभियान सुरु भइसकेको भन्दै वडाबाट रुख काट्न सिफारिस दिन थालेको बताए। वन कार्यालय कास्कीले भने बाँदर नियन्त्रण गर्न रुख काट्ने अनुमति लिन कोही नआएको जनाएको छ।

    कास्कीका वन प्रमुख सुवेदीले हचुवाको भरमा जथाभावी रुख नकाट्न आग्रह गरेका छन्। ‘बाँदर घरबारीमा खेतीबाली खान आउने हो, रुख चढ्न होइन,’ उनले भने, ‘रुख काट्दैमा बाँदर आउँदैन भन्ने भ्रममा कोही पनि नपर्नुहोला।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार