शनिबार, जेठ ५ गते २०८१

विश्वविद्यालयको नोबेल पुरस्कार मानिने ‘हल्ट प्राइज’ को तयारीमा जुट्यो पुल्चोक क्याम्पस

विश्वविद्यालयको नोबेल पुरस्कार मानिने ‘हल्ट प्राइज’ को तयारीमा जुट्यो पुल्चोक क्याम्पस

अखबार दैनिक
बुधबार, माघ १० २०८०
  • विश्वविद्यालयको नोबेल पुरस्कार मानिने ‘हल्ट प्राइज’ को तयारीमा जुट्यो पुल्चोक क्याम्पस

    काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजले विश्वविद्यालय स्तरको ‘नोबेल पुरस्कार’ मानिने हल्ट प्राइजको लागि आवश्यक तयारीमा जुटेको छ । विगत वर्षहरूझैँ यो वर्ष उक्त प्रतियोगितामा सहभागिता जनाउन क्याम्पसका विद्यार्थीहरूले तयारी थालेका हुन् ।

    images

    युवा विद्यार्थीमा नवप्रवर्तन सम्बन्धी सोचलाई जागृत गर्ने उद्देश्यले विश्वभरबाट उक्त प्रतियोगितामा सहभागिता जनाउने गरेका छन् । नेपालबाट समेत पुल्चोक क्याम्पससँगै अन्य क्याम्पसहरूले सहभागिता जनाउँदै आएका छन् ।

    विगतका वर्षहरू झै यो वर्ष पनि उक्तिकै उत्साह र ऊर्जाका साथ विद्यार्थीहरूले तयारी थालेको पुल्चोक क्याम्पसका विद्यार्थी सन्तोष भण्डारीले बताए । पुल्चोक क्याम्पसका युवा विद्यार्थीहरू संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमा योगदान गरे बापत ५ वटा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनोट भइसकेका छन् ।

    गतवर्ष पुल्चोक क्याम्पसले हल्ट प्राइजको ‘दक्षिण एसिया प्रोग्राम अफ द यर’ को उपाधि जितेको थियो ।  क्याम्पस निर्देशक विशाल बस्यालले नेतृत्व गरेको टोलीले उक्त उपाधि हात पारेको थियो । तीन वर्षको अन्तरालमा उक्त टोलीले देशभरिका १४ भन्दा बढी इन्जिनियरिङ क्याम्पसका १८ हजार भन्दा बढी विद्यार्थीहरूलाई तालिम प्रदान गरिसकेको छ ।  

    ‘द हल्ट प्राइज’ एक ख्याति प्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिता हो । जसले सामाजिक चासोका विषयहरू जस्तै खाद्य सुरक्षा, पानीको पहुँच, सामुदायिक सु–स्वास्थ्य, गुणस्तरीय शिक्षा, जातीय विभेद लगायतका विषयलाई सम्बोधन गर्दै आएको छ ।

    विश्वव्यापी रूपमा मौलाइरहेका यस्ता समस्याको समाधानका लागि विद्यार्थीहरूबिच नवीन विचारहरू मन्थन गराइन्छ । सर्वोत्कृष्ट योजना बनाउने समूहलाई विजेता घोषणा गरिन्छ । आफ्नो योजनालाई वास्तविकतामा ल्याउन १ मिलियन डलरको पुरस्कार प्रदान गर्छ । ‘द हल्ट प्राइज’ युवाहरूका लागि आफ्नो प्रभावशाली विचार विश्वसामु ल्याउने मञ्च बनेको छ । 

    ‘सबैका लागि समाज, समाजका लागि सबै’ भन्ने प्रेरणा दिँदै यो वर्षको हल्ट प्राइजको थिम ‘अनलिमिटेड’ अर्थात असीमित रहेको छ । मानव जातिको चौतर्फी सम्पन्नता माथि कुनै पनि बाधा आउनु भनेको मानव जातीका लागि चुनौती रहेको भन्दै हल्ट प्राइजले उक्त अवधारणामा रहेर प्रवर्द्धन खोजेको छ ।त्यसका लागि पुल्चोक क्याम्पसका विद्यार्थीहरूले आवश्यक तयारी थालेका हुन् ।

    गत २२ मङ्सिरमा प्रतिस्पर्धामा भाग लिन आह्वान गरिएको थियो । एक कार्यक्रमको आयोजना गरेर प्रतिस्पर्धामा भाग लिन आह्वान गरिएको थियो । उक्त कार्यक्रममा गत वर्षका विजेताहरूले मेलबोर्न प्रतिस्पर्धा र आफ्ना सफ्टवेयर डिजाइनका बारेमा जानकारी दिएका थिए ।

    त्यसैगरी १२ पुसमा जुममार्फत विश्वव्यापी चुनौतीका विषयमा मेन्टरशिप मञ्चमा कुरा गर्ने अवसर मिलेको थियो । ‘सामाजिक उद्यमशीलताको परिचय’ कुराकानी शृङ्खलामा विज्ञहरूले सफलताका रणनीतिहरूबारे जानकारी दिएका थिए । उक्त प्रतियोगिताको पूर्व सन्ध्यामा पुल्चोक क्याम्पसका विद्यार्थीहरूले सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार