काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको महासचिव नियुक्तिको विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएका छन् । यसअघि महासचिव नियुक्तिका लागि पठाइएको सिफारिस के भइरहेको छ ? भन्दै सभामुख घिमिरेले ‘स्मरण’ पत्र पठाएका हुन् ।
सभामुख घिमिरेले पुस ४ गते स्मरण पत्र पठाएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक दुर्गा प्रसाद शर्माले जानकारी दिए । यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव पद्ममप्रसाद पाण्डेयलाई महासचिव नियुक्तिका सिफारिस गरेका थिए ।
तर, राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयको नियुक्ति सिफारिस ‘होल्ड’मा राखेका थिए । तत्कालीन महासचिव भरतराज गौतमले संसद्को महासचिवबाट राजीनामा दिएपछि सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयलाई नियुक्तिको सिफारिस गरे पनि पाण्डेयको नागरिकता र पासपोर्टमा विवाद आएको थियो । सोही कारण देखाउँदै राष्ट्रपतिले पाण्डेयको नियुक्ति होल्डमा राखेको बुझिएको छ ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुख घिमिरेले महासचिव नियुक्तीबारे स्मरण पत्र प्राप्त भएको जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘महासचिव नियुक्तिबारे के भइरहेको छ भनेर स्मरण पत्र प्राप्त भएको छ ।’ महासचिव नियुक्तिको प्रक्रिया अहिले राष्ट्रिय सभा निर्वाचनका कारण अघि बढ्न नसकेको भन्दै निर्वाचनपछि प्रक्रिया बढ्ने बताए ।