काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा नेपाल विद्युत प्राधिकरणले बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । विद्युतीय लाइन भूमिगत गर्दा ती क्षेत्रमा विद्युत अवरोध हुने जनाइएको छ ।
प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय लाइभ भूमिगत गर्ने कार्यका कारण विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार यसरी काम भइरहेका बेला हरेक आइतबार विहान ९ बजेदेखि १ बजेसम्म विद्युत आपुर्ति बन्द हुनेछ ।
आइतबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै, माघ ९ गते गणेश चोकदेखि स्पेशल चोकसम्मको क्षेत्र, माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रमा विद्युत अवरुद्ध हुने जनाएको छ ।
त्यस्तै, माघ ११ गते चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।