आइतबार, जेठ ६ गते २०८१

अमेरिकाले फेरि गर्‍यो यमनमा हुथी लक्षित आक्रमण

अमेरिकाले फेरि गर्‍यो यमनमा हुथी लक्षित आक्रमण

अखबार दैनिक
बिहीबार , माघ ४ २०८०
  • अमेरिकाले फेरि गर्‍यो यमनमा हुथी लक्षित आक्रमण

    एजेन्सी \ संयुक्त राज्य अमेरिकाले यमनमा हुथी लक्षित आक्रमण गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार यमनमा हुथी लडाकुका १४ मिसाइल लञ्चरलाई निस्तेज पार्न बुधबार राति तोमहक मिसाइल प्रहार गरेको हो।  

    images

    अमेरिकी रक्षा विभागको ११ एकीकृत लडाकु कमाण्डमध्येको सेन्टकोम (सेन्ट्रल कमाण्ड)ले हुथी विद्रोहीले रेड सीमा जहाजहरूमा आक्रमण गर्न तयार राखिएको मिसाइल लञ्चरहरूलाई निस्तेज पार्न आक्रमण गरिएको बताएको छ।

    ‘हामी निर्दोष नाविक र हाम्रा नागरिकहरूको रक्षाका लागि प्रतिबद्ध छौं,’ कमाण्डर जनरल माइकल एरिक कुरिल्लाले भने।

    जनवरी १२मा अमेरिका र बेलायतसहित पाँच मुलुकले यमनमा हुथीविरूद्ध आक्रमण गरेको थियो।त्यसयता बुधबारको आक्रमण चौथो आक्रमण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  

    सिएनएनका अनुसार अमेरिकी आक्रमणअघि सोमबार हुथीले रेड सीमा अमेरिकी जहाजलाई लक्षित गरेर एन्टी सिप ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसबाट अमेरिकी जहाजमा सामान्य क्षति भएको बताइएको छ।  

    इसराइलले गजामा आक्रमण गरेको विरोधमा हुथीले रेड सीमा अमेरिकी र इसराइली जहाजलक्षित आक्रमण थालेको थियो। अमेरिकाको चेतावनीका बाबजुद हुथी लडाकुले आक्रमण जारी राखेपछि राष्ट्रपति जो बाइडेनले यमनमा हुथीविरुद्ध आक्रमण गरेको थियो।

    को हुन् हुथी?
    हुथीहरू यमनमा रहेका शिया इस्लामको जैदी शाखाका हुन्। आफूलाई अन्सार अल्लाह (भगवानका समर्थक) भन्ने उनीहरूले सन् १९९० को दशकमा छिमेकी साउदी अरेबियाको सुन्नी वहाबी धर्म विस्तारको प्रतिरोध गर्न, र जैदी पहिचानका लागि आन्दोलन सुरू गरे। उत्तरी यमन र दक्षिणी साउदी अरेबियाका केही भागमा रहेका जैदीहरू शियाहरू भन्दा केही अलग छन्। उदाहरणका लागि शियाहरूले १२ इमामहरूलाई मान्छन् भने जैदीहरूले केवल पाँच इमामहरूलाई मान्छन्।

    उनीहरूले विस्तारै तत्कालिन यमनी राष्ट्रपति अलि अबदुल्लाह सालेहको भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्न थाले। सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरे पछि सालेह सरकारले त्यसको समर्थन गरेपनि उनीहरूले विरोध गर्थे।

    इराकमा बहुमत शियालाई शासन गर्ने सुन्नी सद्दाम हुसेनको सरकार र इरानको दुश्मनी थियो। त्यस अर्थमा त्यतिबेला उनीहरू र इरान विपरित कित्तामा थिए।

    त्यतिबेलासम्म उनीहरूको आन्दोलन हिंसात्मक भइसकेको थियो। त्यो समयमा आन्दोलनको नेतृत्व हुसेन अल हुथीले गर्थे। सन् २००४मा यमन सरकारले उनको हत्या गरे पछि उनीहरूले आफूलाई हुथी भन्न थाले। अहिले यो समूहको नेता अब्दुल मलिक अल हुथी हुन्। विस्तारै अमेरिका, साउदी अरेबिया र इसराइल विरूद्धको साझा दुश्मनीका कारण उनीहरू इरानसँग नजिक भए।

    सन् २०११ को अरब स्प्रिङको बेला सालेहको सरकार ढल्यो र उनका उपराष्ट्रपति अब्द-राबु मन्सुर हादी राष्ट्रपति बने। त्यसपछि संक्रमणकालमा यमनलाई प्रजातन्त्रतर्फ गरिएको वार्ता सन् २०१३-२०१४ मा टुटेपछि हुथीले सेप्टेम्बर २०१४ मा यमनको राजधानी सानालाई कब्जा गर्यो। त्यसपछि देशको अधिकांश भाग कब्जा गर्दै, दक्षिणमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरे। सन् २०१५को जनवरीमा हुथीले हादीलाई राजीनामा दिन बाध्य बनाए र हादी भागेर सउदी गए।

    त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई)ले मिलेर हुथीमाथि आक्रमण गरे। सो आक्रमणमा अमेरिका, बेलायत, फ्रान्स लगायत पश्चिमा राष्ट्रको समर्थन थियो। तर पनि इरानको हातहतियारको भरमा लडेका हुथीलाई परास्त गर्न सकेनन्। पहिल्यै देखि छिमेकीभन्दा तुलनात्मक रूपमा गरिब यमन युद्धका कारण ध्वस्त भयो। संयुक्त राष्ट्रसंघले यमनमा संसारको सबैभन्दा कहालीलाग्दो मानवीय संकट भएको घोषणा गर्यो। त्यहाँका दुई-तिहाइ भन्दा धेरै जनतालाई मानवीय सहायता चाहिन्छ भन्यो।

    गत अप्रिलमा त्यहाँ संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्ध बिराम भयो। अक्टोबरमा युद्ध बिरामको अन्त्य भएपनि त्यसपछि पनि त्यहाँ हिंसा भड्किएको छैन।

    अमेरिका लगायत देशले हुथीमाथि किन आक्रमण गरेका हुन्?
    हुथी विद्रोहीले गजामा इसराइलले गरेको आक्रमणको विरूद्धमा रेड सीमा आक्रमण गरेको बताउँदै आएको छ। उनीहरूले इसराइली बन्दरगाह प्रयोग गर्ने जहाजहरूमा मात्रै आक्रमण गरेको भने पनि यसले रेड सी र स्वेज नहरको प्रयोग गरेर हुने संसारको १२ प्रतिशत व्यापारलाई असर गरेको छ।

    त्यो रूट प्रयोग नगर्ने हो र अफ्रिका घुमेर जाने हो भने १० दिन लगाएर झण्डै ६४०० किलोमिटर बढी यात्रा गर्नुपर्छ। त्यही रूट प्रयोग गर्दा हुथीले आक्रमण गर्न सक्ने खतराका कारण बीमाको प्रिमियम बढ्छ। जे गरे पनि ढुवानी खर्च बढेर वस्तुको मूल्य बढ्छ।

    अमेरिका लगायत देशले अन्तर्राष्ट्रिय व्यापार जोगाउनका लागि हुथीमाथि आक्रमण गरेका हुन्। त्यहाँ आक्रमण गर्दा गत अप्रिलमा रोकिएको हिंसा फेरि भड्किन सक्ने खतरा भएपनि हुथीजस्तो तुलनात्मक रूपमा सानो समूहको समुद्रमा आक्रमण पनि सहे, अरूहरूले पनि अन्त रोक्न सक्ने खतराका कारण अमेरिकाले आक्रमण गरेको हो।

    मध्यपूर्वका अमेरकी समर्थित देशहरू कतार र ओमनलगायतका देशहरूले ‘रेड सी’मा हुथीविरूद्ध आक्रमण हुँदा हिजबुल्लाह लगायतका अन्य विद्रोही शक्तिहरू पनि प्रत्याक्रमणमा उत्रिन सक्ने र यसले लामो युद्धको सुरूवात हुन सक्ने बताउँदै तत्काल आक्रमण नगर्न अनुरोध गरेको थियो।

    अरब देशका जनताहरू अमेरिकाले अहिले गजामा आक्रमण गरिरहेको इसराइललाई समर्थन गरेकाले क्रुद्ध छन्। अमेरिकाले यमनमा पनि आक्रमण गर्ने हो भने आफ्ना देशका जनता झन् भड्किएर आफूविरूद्ध पनि आक्रमण गर्न सक्ने खतराका कारण पनि अरब देशहरूले आक्रमण रोक्न खोजेका हुन्। तर बिहीबार अमेरिकाले हुथीविरूद्ध आक्रमण गर्ने निर्णय गरेपछि बेलायतले समर्थन जनाएको थियो।

    नेदरल्याण्ड्स, अष्ट्रेलिया, क्यानडा र बहराइनले भने गुप्तचर र अन्य सहयोग उपलब्ध गराएको थियो। हुथी विद्रोही विरूद्धको आक्रमणमा अमेरिकालाई सघाउने बहराइन एकमात्र अरब देश बनेको छ।

    ‘बेलायत सँधै स्वतन्त्र पारवाहन र व्यापारको पक्षमा उभिन्छ,’ आक्रमणपछि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले भनेका छन्। आक्रमणपछि हुथीका विदेशमन्त्रीले विज्ञप्ति जारी गर्दै अमेरिका र बेलायतलाई ठूलो मूल्य चुकाउन तयार रहन चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ