आइतबार, जेठ ६ गते २०८१

इसराइल-हमास युद्धको सय दिन पुग्यो, गजामा मारिए साढे २३ हजार प्यालेस्टिनियन

इसराइल-हमास युद्धको सय दिन पुग्यो, गजामा मारिए साढे २३ हजार प्यालेस्टिनियन

अखबार दैनिक
सोमबार, माघ १ २०८०
  • इसराइल-हमास युद्धको सय दिन पुग्यो, गजामा मारिए साढे २३ हजार प्यालेस्टिनियन

    एजेन्सी - अक्टोबर-७ मा हमासले इसराइलमा अकास्मात आक्रमण गर्दा त्यहाँ १० जना नेपालीसहित १२ हजार मानिस मारिएका थिए। त्यसपछि इसराइलले हमासविरूद्ध युद्धको घोषणा गरी गजामा लगातार आक्रमण गर्दै आइरहेको छ।

    images

    इसराइली आक्रमणबाट निर्दोष नागरिकहरू मारिन थालेपछि अन्तर्राष्ट्रिय दबाव बढ्दै जाँदा नोभेम्बर अन्तिममा युद्धको ४८ दिनपछि इसराइलले गजामा युद्धविराम गरेको थियो।

    एक साताको युद्धविराममा हमासले इसराइलबाट बन्दी बनाएर लगेका नेपालका विपिन जोशीसहित २३९ जनामध्ये १३६ जनालाई बन्धकमुक्त गरेको थियो। त्यतिबेला इसराइली जेलबाट सयौंको संख्यामा प्यालेस्टिनियन नागरिकहरू मुक्त भएका थिए।

    पछि हमासले सहमति विपरीत युद्धविरामको समयमा इसराइलमा आक्रमण गरेको भन्दै युद्धविराम भंग भएपछि इसराइले अझै सशक्त ढंगले गजामाथि आक्रमण विस्तार गरेको थियो।

    हमासले बन्धक बनाएको एक सयभन्दा बढी व्यक्तिहरूलाई मुक्त नगरेसम्म र गजाबाट हमास लडाकुलाई सखाप नपारेसम्म गजामा आक्रमण नरोकिने इसराइलले बताउँदै आएको छ।

    कयौंपटक संयुक्त राष्ट्रसंघले युद्धिविरामको आह्वानलाई बहुमतले पारित गरेपनि इसराइलले त्यसलाई अस्वीकार गर्दै आएको छ। सुरक्षा परिषदले गजामा युद्धविराम गर्ने प्रस्ताव पारित गरेपनि अमेरिकाले त्यसलाई भिटो प्रयोग गरी निष्क्रिय तुल्याएको थियो।

    इसराइलले गजामा निहत्थाहरूको नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा ऊविरूद्ध मुद्दा दायर गरेको छ। इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले गजामा हमास लडाकू समाप्त नभएसम्म आफूहरूको आक्रमणलाई कसैले रोक्न नसक्ने बताएका छन्।

    ‘न त हेग, न त कुनै दुष्ट समूह, कसैले हामीलाई रोक्न सक्दैन,’ प्रधानमन्त्री नेतन्याहुले भने। सय दिनको अवधिमा गजामा २३ हजार ८४३  मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    त्यस्तै ६० हजार घाइते लाखौं विस्थापित भएका छन्। अल जजिराका अनुसार इसराइलले गजा आक्रमणमा ५४ बिलियन अमेरिकी डलर खर्च गरेको उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार