आइतबार, जेठ ६ गते २०८१

माल्दिभ्समा फिल्म छायांकनको योजना धमाधम रद्द गर्दै भारतीय निर्माता

माल्दिभ्समा फिल्म छायांकनको योजना धमाधम रद्द गर्दै भारतीय निर्माता

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • माल्दिभ्समा फिल्म छायांकनको योजना धमाधम रद्द गर्दै भारतीय निर्माता

    काठमाडौं । लक्षद्वीप टापुलाई लिएर भारत र माल्दिभ्सबीच चर्किएको विवाद तत्काल साम्य हुने छाँटकाँट छैन । भारतमा ‘माल्दिभ्स’लाई बहिष्कार गरौं भन्ने ट्रेन्ड चलिरहँदा अब यो अभियानमा भारतीय फिल्म उद्योग पनि जोडिएको छ ।

    images

    विवाद सुरु भएसँगै भारतीय सेलिब्रेटी र सर्वसाधारणले धमाधम माल्दिभ्समा बिदा मनाउने योजना रद्द गरिरहेका छन् । अक्षयकुमार, सलमान खान, रणवीर सिंह, श्रद्धा कपुर, सचिन तेन्दुलकर लगायतका सेलिब्रेटीले ‘एक्स्पलोर इण्डियन आइल्याण्ड’ ट्रेन्ड चलाइरहेका छन् ।

    माल्दिभ्समा फिल्म छायांकन गर्न नहुने र बहिष्कार गर्नुपर्ने आवाज पनि चर्किरहेको छ । यस्तोमा द फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोयजले बिहीबार विज्ञप्ति जारी गर्दै माल्दिभ्समा फिल्म छायांकन नगर्न निर्मातालाई आग्रह गरेको छ । त्यसको विकल्पमा भारतीय लोकेसनमा फिल्म छायांकन गर्न भनिएको छ ।

    साथै, उक्त संस्थाले माल्दिभ्समा छायांकन गर्ने सबै योजना स्थगित गर्ने योजना पनि बनाएको जनाएको छ । उसले भारतमै फिल्म छायांकन गर्दा मुलुकको पर्यटनमा पनि वृद्धि हुने उल्लेख गरेको छ ।

    ‘भारत र विश्वभरका सबै निर्मातालाई माल्दिभ्समा कुनै पनि सुटिङ वा उत्पादनका गतिविधिको योजना नगर्न सल्लाह दिइन्छ । हामी सबै प्रधानमन्त्री र हाम्रो राष्ट्रको पक्षमा खडा छौं,’ विज्ञप्तिमा भनिएको छ । इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)ले माल्दिभ्सको प्रवर्द्धन रोक्न र भारतीय टापु लक्ष्द्वीपमा पर्यटक फर्काउन आग्रह गरेको दुई दिनपछि यस्तो आग्रह आएको हो ।

    ‘कृपया लक्षद्वीप, अण्डमान र निकोबार टापुमा फिल्म सुटिङ सार्नुहोस्, जुन धेरै तरिकामा माल्दिभ्स भन्दा पनि राम्रो छ र हिन्द महासागर क्षेत्रमा प्रवर्द्धन गर्न सकिने अन्य गन्तव्य श्रीलंका, मौरिसस, बाली, फुकेट छन्,’ सुभाष गोयलले भनेका छन् ।

    केही भारतीय फिल्म निर्माताले माल्दिभ्समा फिल्म छायांकनको योजना धमाधम स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको यो कदमले पर्यटनमा आधारित माल्दिभ्सको अर्थतन्त्र प्रभावित हुनसक्छ । माल्दिभ्स घुम्न जाने ९० प्रतिशत पर्यटक भारतीय हुने गरेका छन् ।

    गत साता लक्षद्वीप टापु घुम्न गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै माल्दिभ्सका तीन मन्त्रीले आपत्तिजनक टिप्पणी गरेका थिए । अहिले भने ती मन्त्रीलाई माल्दिभ्स सरकारले बर्खास्त गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार