काठमाडौं । हलिउड अभिनेता ब्रुस डर्नले नेपाली फिल्म ‘भूठान : द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’मा अभिनय गर्ने भएका छन् । दुईपटक ओस्कार मनोनित अभिनेताले हरिवंश आचार्य र दयाहाङ राईसँगै फिल्म खेल्न लागेको भेराइटी म्यागजिनले जनाएको छ ।
विनोद पौडेलको निर्देशनमा यो फिल्मको छायांकन अहिले अमेरिकामा भइरहेको छ । फिल्मले नेपालबाट पुनर्वास भएर अमेरिकाको पेन्सिलभेनिया र ओहायो क्षेत्रमा बसोबास गरेका नेपालीभाषी भुटानीको दुर्दशा र विस्थापनसँग संघर्षको कथा पेश गर्छ ।
सन् २०१९ मा पौडेल निर्देशित फिल्म ‘बुलबुल’ नेपालबाट ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधाका लागि सिफारिस भएको थियो । राई अभिनित ‘गाउँ आएको बाटो’ सन् २०२३ मा टोरन्टो, बुसान र मुम्बई फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । आचार्य अभिनित ‘महापुरुष’ सन् २०२२ को धेरै कमाउनेमध्येको फिल्म हो ।
नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको फिल्म सन् २०१९ मा दक्षिण कोरियाको बुसान एसियन प्रोजेक्ट मार्केटमा ‘एक्रोन इन्टरनेसनल’ टाइटलमा पिचिङ भएको थियो ।
यो फिल्ममा नेपाल र अमेरिकाका निर्माताको संयुक्त लगानी छ । फिल्मको निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापासँगै एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठ छन् ।
अभिनेता डर्न सन् १९७९ को फिल्म ‘कमिङ होम’ र सन् २०१३ को ‘नेब्रास्का’बाट ओस्कार अवार्डमा मनोनित भएका थिए । ‘नेब्रास्का’बाट उनले कान्समा सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका थिए ।
‘मेरो लागि, यो सबै परिवारको बारेमा हो र तिनीहरू कसरी एकसाथ आउँछन् वा अलग हुन्छन् भन्नेबारेमा हो । यस कथामा एक परिवारलाई भूगोल र संस्कृतिले छुट्याएको छ । यो एउटा फिल्म हो जसले देशबीचको विभाजित आत्मालाई प्रतिविम्बित गर्छ । नेपालको फिल्म उद्योग बढ्दो क्रममा छ र यो हाम्रो लागि नेपाल र अमेरिकालाई जोड्ने अवसर हो । ब्रुसजस्ता कलाकारसँग काम गर्न पाउनु हाम्रा लागि सम्मानको कुरा हो । यो अब नरहेको मातृभूमिको चाहनाबारेको फिल्म हो,’ पौडेलले भेराइटीलाई भने ।
‘भूठान’को छायांकन यतिबेला अमेरिकाको एक्रोन, ओहायो र त्यस वरपर छायांकन भइरहेको छ ।