आइतबार, जेठ ६ गते २०८१

जापान भूकम्प : पाँच दिनपछि ९ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

जापान भूकम्प : पाँच दिनपछि ९ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

अखबार दैनिक
आइतबार, पुस २२ २०८०
  • जापान भूकम्प : पाँच दिनपछि ९ दशक पार गरेकी वृद्धाको सकुशल उद्धार

    एजेन्सी \ सुजु । मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ ।  सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम बर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ ।

    images

    जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको मृत्यु भएको र अन्य २२२ जना हराइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको झट्का र त्यसपछिका पराकम्पनले भवनहरू भत्किएका थिए । ठूलो आगलागी भएको थियो र एक मिटरभन्दा अग्ला सुनामी छालहरू उत्पन्न भएका थिए । 

    विनाशकारी भूकम्प गएको तीन दिनपछि जीवित व्यक्तिहरू भेट्टाउने आशा प्रायः धुमिल हुन्छ । तर, सुजु शहरमा भत्किएको घरको भग्नावशेषमुनि पाँच दिन बिताएकी ती वृद्धालाई शनिबार उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ र अस्पतालमा लानुअघि उनले प्रश्नको स्पष्ट जवाफ दिइरहेको सरकारी प्रसारक एनएचकेले जनाएको छ ।

    स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको घटनास्थलको प्रहरी फुटेजमा उद्धारकर्ताहरूले ती महिलालाई उद्धार प्रयास जारी रहेको भन्दै नआत्तिइकन ‘त्यहीँ पर्खनुहोस्’ भनेको सुन्न सकिन्छ ।  टोकियो प्रहरीका एक प्रवक्ताले एएफपीलाई टोकियो र फुकुओकाका अधिकारीहरूले एक वृद्धाको उद्धार गरेको पुष्टि गरे पनि थप विवरण दिन चाहेनन् । 

    सोमबार भूकम्प आएको नोटो प्रायद्वीपका धेरै समुदायहरू भूकम्पका कारण क्षतिग्रस्त सडकहरूले गर्दा राजमार्ग तथा सडक सञ्जालबाट टाढा हुनुपरेको छ । अनुमानित एक हजार पहिरोहरूमध्ये केहीले सडकमार्गलाई पुरेको वा भत्काएका कारणत्यहाँ सहायताका लागि पठाइएका यातायातका साधनहरू पनि बाटोमा नै अलपत्र बनेका छन् । 

    जापानको मुख्य होन्शु टापूको समुद्री तटमा रहेका प्रायद्वीपमा आइतबार दिउँसोसम्ममा चिसो वर्षाको सम्भावना रहेको बताइएको छ ।

    हेलिकप्टरमार्फत् सहायता पुर्याइँदै
    हजारौं प्रहरी, सेना र अन्य उद्धारकर्मीहरूको उद्धार अभियानलाई खराब मौसमले चुनौतीपूर्ण बनाएको छ । राहत सामग्रीहरू पानी र बिजुली कटौती भएका क्षेत्रहरूमा पुग्न ढिलो भएका कारण शनिबारसम्म ३६६ वटा सरकारी आश्रयस्थलमा रहेका ३० हजारभन्दा बढी मानिसहरूको अवस्थालाई अझ खराब बनाउन सक्ने अधिकारीहले बताएका छन् । 

    प्रधानमन्त्री फुमियो किशिदाले आइतबार एनएचकेलाई दिएको एक अन्तर्वार्तामा भने, ‘पहिलो प्राथमिकता भग्नावशेषमा रहेका मानिसहरूको उद्धार गर्नु र एकान्तमा रहेका समुदायहरूमा पुग्नु हो ।’

    सेनाले प्रत्येक पृथक समुदायमा सैनिकका स–साना समूहलाई पैदल नै प्रभावित क्षेत्रमा पठाएको उनले बताए । प्रभावित क्षेत्रका नागरिकलाई हवाई मार्गबाट सहयोग गर्न सरकारले विभिन्न प्रहरी र अग्नि नियन्त्रक विभागका हेलिकप्टरहरू पनि तैनाथ गरेको किशिदाले बताए । 

    ‘विपत्तिमा पीडितहरूको स्वास्थ्यको ख्याल गर्दै हामीले आश्रयस्थलहरूको अवस्था सुधार गर्न आवश्यक छ,’ उनल भने । जापानमा हरेक वर्ष सयौं भूकम्प जाने भएपनि पछिल्ला दशकहरूमा भूकम्प प्रतिरोधी संरचनाका कारण अधिकांश भूकम्पमा कुनै क्षति हुने गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार