आइतबार, जेठ ६ गते २०८१

पेटेन्ट विवादका कारण अमेरिकामा रोकियो एप्पल वाचको बिक्री

पेटेन्ट विवादका कारण अमेरिकामा रोकियो एप्पल वाचको बिक्री

अखबार दैनिक
बिहीबार , पुस ५ २०८०
  • पेटेन्ट विवादका कारण अमेरिकामा रोकियो एप्पल वाचको बिक्री

    काठमाडौं । यदि ह्वाइट हाउसले एउटा अन्तर्राष्ट्रिय पेटेन्ट विवादमा हस्तक्षेप गरेन भने यो हप्ताको अन्त्यमा एप्पलका नवीनतम स्मार्ट घडीका दुईवटा संस्करण एप्पल वाच ९ तथा अल्ट्रा २ बजारमा उपलब्ध हुने छैनन् ।

    images

    एप्पलले अमेरिकी ग्राहकका लागि बिहीबार दिउँसोदेखि अनलाइनबाट तथा डिसेम्बर २४ आइतबारदेखि आफ्ना स्टोरहरुबाट समेत यी दुई सिरिजका स्मार्ट वाचको बिक्री रोक्ने योजना बनाएको छ । यी एप्पल वाचमा एउटा यस्तो फिचर छ जसले प्रयोगकर्ताको रगतमा रहेको अक्सिजनको मात्रा देखाइदिन्छ ।

    एप्पल वाचको यही फिचरका कारण चिकित्सा डिभाइस निर्माता कम्पनी मासिमो र एप्पलको बीचमा बौद्धिक सम्पत्ति अधिकार अर्थात् पेटेन्टको विवाद खडा भएको छ ।

    एप्पलले आफ्ना स्मार्टवाचलाई जीवनदायिनी डिभाइसको रुपमा बजारीकरण गर्दै आएको छ र त्यसमा प्रयोगकर्ताका स्वास्थ्य सम्बन्धी जानकारी दिने विभिन्न फिचरहरु उपलब्ध हुँदै आएका छन् । सोही कारण एप्पलका स्मार्ट घडीहरु विश्वको स्मार्टवाच बजारमा सर्वाधिक लोकप्रिय छन् । विश्व स्मार्टवाचको बजारमा एप्पलको हिस्सा २४ प्रतिशत छ । तर मासिमो कम्पनीसँगको पेटेन्ट विवाद एप्पलका लागि महंगो पर्ने देखिन्छ।

    यो सम्बन्धमा अन्तराष्ट्रिय व्यापार आयोग (आईटिसी) को अक्टोबरको फैसलापछि एप्पलले अन्ततः यी दुई सिरिजको बिक्री रोक्ने योजना बनाएको हो ।

    एप्पलले मासिमो कम्पनीले विकास गरेको पल्स अक्सिमिटर प्रविधिको पेटेन्ट उल्लंघन गरेर आफ्ना स्मार्टवाचमा राखेको आयोगले ठहर गरेको थियो । यो प्रविधिमा मानिसको रगतमा रहेको अक्सिजनको मात्रा मापनका लागि प्रकाशमा आधारित प्रविधिको प्रयोग हुन्छ ।

    राष्ट्रपति बाइडेनसँग गत अक्टोबर २६ मा जारी भएको आयोगको आदेश पुनरावलोकन गर्नका लागि ६० दिनको अवधि उपलब्ध थियो । यसको अर्थ एप्पलले क्रिसमसको अवधिभर पनि अमेरिकामा उल्लेखित दुबै मोडेलका स्मार्ट घडीको बिक्री जारी राख्न सक्दथ्यो । तर आइटिसीको आदेशको पालना सुनिश्चित गर्नका लागि आफूले छिटै नै दुई एप्पल वाचको बिक्री रोक्न लागेको एप्पलले जनाएको छ । उसले एक विज्ञप्तिमा भनेको छ– डिसेम्बर २५ सम्ममा समीक्षा अवधि समाप्त नहुने भएतापनि फैसला कायम रहेको अवस्थामा त्यसको पालना गर्नका लागि एप्पलले त्यस अगावै कदम चाल्दैछ । यद्यपि उक्त आदेशप्रति एप्पलको कडा असहमति छ र आफ्ना ग्राहकसँग उपलब्ध हुने कुराको सुनिश्चितताका लागि एप्पलले विभिन्न कानूनी तथा प्राविधिक विकल्पहरुको खोजी गरिरहेको छ ।

    साथै उक्त आदेश कायमै रहेमा कम्पनीले एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा टु स्मार्टवाचलाई जतिसक्दो छिटो अमेरिकी उपभोक्ताहरुका लागि बजारमा फिर्ता ल्याउन सबै खालका उपायहरु ऋपनाउने पनि एप्पलले जनाएको छ । आइटिसीको आदेश विरुद्ध संघीय अदालतमा पुनरावेदन गर्ने उसको योजना छ ।

    एप्पलले गत सेप्टेम्बरमा आफ्नो सिरिज ९ को स्मार्टवाच बजारमा ल्याएको थियो । यसमा एस ९ चिप छ जसले हातको चालको आधारमा घडीका विभिन्न फिचर नियन्त्रण गर्दछ ।

    – एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार