काठमाडौं । तपाईंलाई अभिनयमा रुचि छ भने यो समाचार रोचक हुनसक्छ । लियान निसन स्टारर प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड २’ नेपाली कलाकारका लागि आवेदन मागेको छ ।
उक्त फिल्मको कास्टिङ हेरिरहेको कम्पनी स्टार नाउले कलाकार मागेको हो । यो फिल्मका लागि दुईथरी नेपाली कलाकार मागिएको छ । पहिलोमा- अभिनेता निसनकै छालाको रङसँग मिल्दोजुल्दो र उचाइ ६.४ हाराहारीमा भएको पुरुष कलाकार हुनुपर्ने । उमेर ३० देखि ५५ वर्षसम्मको हुनुपर्ने उल्लेख छ । जनवरी १६ देखि मार्च १ सम्म यी कलाकारको सुटिङ हुने उल्लेख छ ।
दोस्रोमा- २० देखि ७० वर्षसम्मका जुनसुकै लिंगको भएपनि ब्याकग्राउण्ड कलाकार मागिएको छ । पाँच दिन हुने छायांकनमा १०७९.४० अष्ट्रेलियन डलर (२१५.८८ एयुडी प्रतिदिन) पारिश्रमिक तोकिएको छ ।
यो फिल्मको समग्र छायांकन भने नेपाल र अष्ट्रेलियामा हुने जनाइएको छ । तर, फिल्मको कथावस्तुको सेटिङ चाहिँ नेपालको कोदारी राजमार्गलाई बनाइएको छ । आंशिक छायांकन नेपालमा हुने भनिएपनि अधिकांश छायांकन अष्ट्रेलियाको भिक्टोरियाको वाल्हल्लामा हुने भएको छ । नेपालको कोदारी राजमार्गजस्तै देखिने भूगोलको सेटमा फिल्म त्यहाँ खिचिने उल्लेख छ ।
जनवरी १५ देखि फेब्रुअरी मध्यसम्म फिल्मलाई नेपालमा समेत सुटिङ गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो फिल्ममा ७१ वर्षिय अभिनेता शीर्ष भूमिका निर्वाह गर्दैछन् ।
खासगरि तपाईं अष्ट्रेलियाको मेलबर्न भिक्टोरियामा बस्नुहुन्छ भने यो राम्रो अवसर बन्न सक्छ । सन् २०२१ को जनगणनाअनुसार उक्त अष्ट्रेलियामा नेपाली मुलका २१ हजार मानिस बसोबास गर्ने उल्लेख छ । फिल्मका कास्टिङ संयोजक करेन्ट न्यूम्यानले छनोट हुने कलाकारको आतेजाते व्यवस्था फिल्मले गर्ने बताए ।
नेपाल र चीनको तिब्बत जोड्ने कोदारी राजमार्गको कथावस्तुमा फिल्म बन्न लागेको हो । निर्माताले सार्वजनिक गरेको टिजर पोस्टरमा लियान नेसान र सगरमाथा चित्रित छ । निर्माताले कोदारको सट्टा वाल्हल्लालाई सेट बनाउन लागेका हुन् । दुरुस्तै कोदारी र ल्याण्डस्केपजस्तो देखिने भएकाले त्यहाँ फिल्म खिच्न लागिएको उल्लेख छ ।
भेराइटी म्यागजिनका अनुसार अभिनेता निसन कथावस्तुअनुसार भाईको अन्तिम इच्छा पुरा गर्न नेपालको सगरमाथा क्षेत्रमा आउँछन् । सगरमाथामा भाईको अस्तु विसर्जन गर्ने उनको योजना हुन्छ । तर, कठिन पहाडी भूगोल र चट्टानमा उनको समूहमाथि आक्रमण हुन्छ । आफ्नो टीमलाई उद्धार गर्न नीसनले संघर्ष गर्नुपर्ने हुन्छ ।