काठमाडौं । बहुदल स्थापनापछि मुलुक धेरै सामाजिक-राजनीतिक आन्दोलनको साक्षी बन्यो । गणतन्त्र बहाली ठूलो राजनीतिक घुम्ती थियो । व्यवस्था प्राप्तिका लागि जुन कारणले आन्दोलन भए, उद्देश्य अझै पूरा भएको देखिएको छैन ।
बिहीबार पोस्टर सार्वजनिक गर्दै फिल्म ‘सतीदेवी’ले तिनै सामाजिक-राजनीतिक आन्दोलनको औचित्यलाई प्रश्न गर्छ ।
पोस्टरमा एक महिला पात्रलाई जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको देखिन्छ । भर्खरको उमेरकी यी गाउँले युवती त्रसित मनोविज्ञानसहित भागिरहेकी छिन् । उनको नियति के हुने हो, त्यसको सार फिल्मले नै भन्ला । पोस्टरमा देखिएकी कलाकार पछिल्लो छिमलकी व्यस्त अभिनेत्रीमध्ये पर्ने मलिका महत हुन् ।
ग्रामीण सेटिङमा खिचिएको फिल्मको यो पोस्टरले गणतन्त्रमा महिला, दलित, सीमान्तकृत र अपहेलित पात्रको दुदर्शाको कथा पेश गर्छ । लक्ष्मण सुवेदीले सतीदेवी चरित्रमार्फत आफूले भोगेको र देखेको जीवनको कथालाई फिल्ममा पस्किएका छन् । सतीदेवीको भूमिकामा मलिकाले अभिनय गरेकी छन् ।
नारीप्रधान फिल्ममा मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ । समग्रमा यो बाउछोरीबीचको सम्बन्धको कथा हो । छोरा पाउने चाहनामा छोरी जन्माउने र अपहेलना गर्ने प्रवृत्तिको कथा ।
फिल्मबारे निर्देशक सुवेदी भन्छन्, ‘एकै खालको फिल्म हेरेर दर्शक वाक्क थिए । यथार्थ फिल्म बनेका थिएनन् । हामीले देखेका कथामा बनेका फिल्म कम छन् । आफैंले देख्दै भोग्दै आको कथामा फिल्म बनाउन मन थियो । यो जमर्कोमा सतीदेवी बनेको हो ।’
फिल्मले महिला सशक्तीकरणको सन्देश दिने उनको भनाइ छ । ‘यसमा यथार्थता छ । कला र व्यापारका दुवै तत्व मिसिएको छ । यो महिला संवेदनाको कथा हो । छोरी जन्मिंदा समाजले कसरी हेर्छ भन्ने कुरा छ । फिल्मले त्यो भ्रमबाट मुक्त गराउँछ । छोरी पात्रलाई बलियो रुपमा प्रस्तुत गरेको छ ।’
यो फिल्मलाई वर्षको अन्त्यतिर रिलिज गर्ने निर्माताको तयारी छ । फिल्ममा मलिकासहित सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।
फिल्मको लेखन, गीत, निर्माण र निर्देशन लक्ष्मणकै छ ।