शनिबार, जेठ ५ गते २०८१

विश्वकप छनोट फुटबलको दोस्रो चरण : उच्च मनोबलसहित तयारीमा व्यस्त छ नेपाली टोली

विश्वकप छनोट फुटबलको दोस्रो चरण : उच्च मनोबलसहित तयारीमा व्यस्त छ नेपाली टोली

अखबार दैनिक
बिहीबार , कात्तिक २३ २०८०
  • विश्वकप छनोट फुटबलको दोस्रो चरण : उच्च मनोबलसहित तयारीमा व्यस्त छ नेपाली टोली

    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली अहिले सन् २०२६ मा आयोजना हुने विश्वकपका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो । 

    images

    यतिबेला नेपाली टोली यही दुई ठूला छनोट प्रतियोगिताको तयारीमा व्यस्त छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा छ । करिब २० दिनदेखि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । 

    दोस्रो चरणको छनोट अन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्नेछ । उक्त खेल यूएईको घरेलु मैदानमा कात्तिक ३० गते खेलिने कार्यक्रम रहेको छ । त्यसपछि नेपालले युएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।

    नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ । यमनविरुद्धको पहिलो लेग खेल मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलिने कार्यक्रम छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।   

    विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा यमन निकै माथि छ । वरीयतामा यमन १५६ औँ र नेपाल १७३ औँ स्थानमा छन् । नेपालको समूहमा यमनका अतिरिक्त संयुक्त अरब इमिरेट्स (युएई)  र बहराइन पनि रहेका छन् । 

    आफ्नो समूहमा रहेका सबै टोलीले एक अर्कासँग होम एन्ड अवेका आधारमा दुई—दुई खेल खेल्नेछन् । पछिल्लो फिफा वरीयतामा युएई ६९ औँ र बहराइन ८३ औँ स्थानमा छन् । यस आधारमा आफ्नो समूहमा नेपाल सबैभन्दा कमजोर टोलीको रूपमा देखिन्छ । 

    यद्यपि, नेपाली टोलीका स्ट्राइकर अञ्जन विष्ट विश्वकप छनोट खेलका लागि सबैले धेरै मेहनत गरेको र यस पटक एसियन कपसमेत खेल्ने लक्ष्य रहेको बताउँछन् । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएको नेपाल दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो । 

    नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु सुखद पक्ष रहेको बताउँछन् । उनले प्रतियोगिताको तयारी पनि निकै राम्रो रहेकाले नतिजा सकारात्मक आउने दाबी गरेका छन् । 

    यसका अतिरिक्त नेपाली टोलीले चरणवद्ध रूपमा घरेलु क्लबहरूसँग अभ्यास खेल पनि खेलिरहेको छ । पहिलो खेलका लागि नेपाली टोली कात्तिक २६ गते दुबई प्रस्थान गर्ने तयारीमा छ । त्यो खेल नेपालको समयअनुसार राति ९ः३० बजे सुरु हुनेछ । 

    नेपाली टोलीका प्रशिक्षक एनेसले आफ्नो टोलीमा युवा खेलाडीको बाहुल्य रहेको बताए । टोलीमा अनुभवी खेलाडी धेरै नरहे पनि निरन्तरको मेहनत र उत्साहले राम्रो नतिजा ल्याउने प्रशिक्षकको विश्वास छ ।

    नेपाली टोलीका महत्त्वपूर्ण खेलाडीसमेत रहेका डिफेन्डर अनन्त तामाङले आफ्ना प्रतिद्वन्द्वीहरू बलिया भए पनि सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले हाल टोलीमा लाओससँग खेलेका खेलाडीकै बाहुल्य रहेको र केही नयाँ खेलाडी भित्रिए पनि उनीहरू टोलीमा सेट भइसकेको बताए ।  

    नेपालका कप्तान किरण चेम्जोङ, रोहित चन्द र मनिष डाँगी हाल विदेशी लिग खेलिरहेका छन् । किरण भारतमा, रोहित इन्डोनेसिया र मनिष थाइल्यान्डमा व्यावसायिक फुटबल खेलिरहेका छन्  । त्यसैले उनीहरूको अनुपस्थितिमै अहिले टोलीले प्रशिक्षण गरिरहेको छ । 

    यस पटक नेपाली टोलीमा समेटिएका केही नयाँ खेलाडीमध्ये एक हुन्, पोर्चुगलमा व्यावसायिक फुटबल खेलिरहेका निसान ठकुरी । प्रशिक्षक एनेसले सिधै ट्रयालमार्फत उनलाई ३२ खेलाडीबाट २६ सदस्यीय टोलीमा समेटेका हुन् । 

    बागलुङ घर भएका निसान पोर्चुगलको लिस्बनस्थित नेपजुम एफसीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । उनी जुनसुकै पोजिसनमा पनि खेल्न सक्ने क्षमता भएका खेलाडी हुन् । खेलाडी विदेश पलायनको शृङ्खला चलिरहँदा उनीसहित केही युवा खेलाडीलाई एनेसले यसपटक टोलीमा स्थान दिन सक्ने सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार