मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको दिन अचेल राम्रो चलिरहेको छैन । एकपछि अर्को गर्दै उनको फिल्म बक्स अफिसमा फ्लप भइरहेको छ ।
बहुप्रतिक्षित फिल्म तेजस सुपरफ्लप बनेपछि उनलाई फिल्म खेल्न छाडेर रिल्स बनाउन भन्दै ट्रोल भएकी थिइन् । सो फिल्मले एक हप्तामा ५ करोड ५० लाख रुपैयाँभन्दा धेरै कमाउन सकेन ।
यसैबीच उनले राजनीतिमा आउने संकेत गरेकी छिन् । हालै गुजरात भ्रमणका क्रममा उनी सोमनाथ ज्योर्तिलिंग र द्वारिकाधिश मन्दिरमा समेत पुगेकी थिइन् । मन्दिरमा पत्रकारहरुले अभिनेत्रीलाई आगामी लोक सभाको निर्वाचनमा उम्मेदवारी दिन उनी इच्छुक हो कि भनेर प्रश्न सोधेका थिए । सो प्रश्नको उत्तरमा उनले ‘श्री कृष्णको कृपा भयो भने चुनावमा लड्छु’ भन्ने जवाफ दिएपछि उनी राजनीतिमा आउन सक्ने अड्कल बलियो बनेको विश्लेषण गर्न लागिएको छ ।
पत्रकारहरुसँग बोल्ने क्रममा रनौतले बीजेपी नेतृत्वको संघीय सरकारको प्रशंसा पनि गरेकी थिइन् । रनौतको आगामी एमर्जेन्सी हो । यो फिल्ममा रनौतले भारतकी पहिलो महिला प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गर्दैछिन् ।
यो फिल्मको निर्देशन र निर्माण दुबै रनौतले गरेकी हुन् । यो फिल्म बनाउन उनले आफ्नो सबै सम्पत्ति धितोमा राखेकी छिन् ।