आइतबार, जेठ ६ गते २०८१

हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ

हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ

अखबार दैनिक
बुधबार, असोज २४ २०८०
  • हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ

    काठमाडौँ । हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ भएको छ । इजरायलमा मृत्यु भएका १० जनाको शव र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो । तर, उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयका अनुसार हवाई उडानको लागि रुट नपाउँदा समस्या भइरहेको हो । 

    images

    सचिवालय सदस्य दीपककुमार जोशीले इजरायले आन्तरिक प्रक्रियामा रहेकाले उडान अनुमतिमा केही ढिलाइ भएको बताए ।  ‘रुट नदिएको भन्दा पनि उत्पन्न परिस्थितिका कारण प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको हो । अनुमति पाउने वितिक्कै हामी तयारी अवस्थामा छौँ । इजरायलबाट अनुमति पाउने वितिक्कै गएर नेपालीहरूको उद्धार गरेर ल्याउँछौँ’ उनले भने ।

    मन्त्री साउदले इजरायलका विदेश मन्त्रीसँग टेलिफोन कुराकानी गरेका गरेका थिए । कुराकानीको क्रममा समेत आफ्ना नागरिकहरूको उद्धारका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । जवाफमा विदेश मन्त्री एली कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई घर फर्काउने विषयमा इजरायलले उच्चतम सहयोग गर्ने आश्वासन दिएका थिए । 

    युद्ध जारी रहेका कारणले इजरायलले हालसम्म उडान अनुमति दिन सकेको छैन । इजरायलमा उत्पन्न परिस्थितिका कारण समस्या भइरहेको जानकारी इजरायल सरकारले नेपाली दूतावासलाई जानकारी गराएको छ । 

    नेपालीहरूको उद्धारको लागि इजरायलको डिफेन्स मन्त्रालय अन्तर्गत रहेको नेशनल डिफेन्स म्याकानिज्मले अनुमति दिनुपर्ने हुन्छ । तर, युद्ध जारी रहेका कारण अनुमति दिन सकेको छैन । जसले गर्दा शव ल्याउन र विद्यार्थीहरूको उद्धारमा ढिलाइ भएको हो । 

    इजरायलको अवस्था अझै संवेदनशील रहेको भन्दै तत्काल उडान भर्न असहज हुने भन्दै अनुमति दिन सकेको छैन ।  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स विमान चार्टर्ड गर्ने निर्णय गरेको थियो । सोही आधारमा दुवै एयरलाइन्सका विमान तयारी अवस्थामा राखिएको तर, उडान अनुमति नपाउँदा ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    गत शनिवार बिहान प्यालेस्टाइनस्थित हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने अझै कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन छन् । त्यस्तै ४ जना घाइतेको उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ