शनिबार, जेठ ५ गते २०८१

इंग्ल्याण्डले पहिलो पटक उपाधिको स्वाद चाखेको बाह्रौँ विश्वकप

इंग्ल्याण्डले पहिलो पटक उपाधिको स्वाद चाखेको बाह्रौँ विश्वकप

अखबार दैनिक
आइतबार, असोज २१ २०८०
  • इंग्ल्याण्डले पहिलो पटक उपाधिको स्वाद चाखेको बाह्रौँ विश्वकप

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको बाह्रौँ संस्करण इंग्ल्याण्ड र वेल्सले संयुक्त रूपमा आयोजना गरेका थिए । इंग्ल्याण्डले कीर्तिमानी रूपमा पाँचौँ पटक एकदिवसीय विश्वकपको सफल आयोजना गरेको थियो । इंग्ल्याण्ड र वेल्सले भने तेस्रो पटक संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए ।

    images

    बाह्रौँ विश्वकप सन् २०१९ को मे ३० देखि जुलाई १४ तारिखसम्म सञ्चालन भएको थियो । बाह्रौँ विश्वकपमा १० वटा राष्ट्रले सहभागिता जनाएका थिए । जबकि यसअघिको विश्वकपमा १४ वटा राष्ट्रले भाग लिएका थिए । 

    विश्वकपको उक्त संस्करणमा कुल ४८ वटा खेल खेलाइएको थियो ।विश्वकपका खेलहरू इंग्ल्याण्डको १० र वेल्सको एउटा रंगशालामा खेलाइएको थियो । प्रतियोगितामा सहभागी १० वटै राष्ट्रलाई एउटै समूहमा राखिएको थियो । 

    प्रारम्भिक चरणमा प्रत्येक राष्ट्रले एकअर्कासँग एक—एक खेल खेलेका थिए । त्यसपछि अङ्क तालिकाको सबैभन्दा माथि रहने चारवटा टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए । १५ अङ्कसहित भारत पहिलो, १४ अङ्कसहित अस्ट्रेलिया दोस्रो, १२ अङ्कसहित इंग्ल्याण्ड तेस्रो र ११ अङ्कसहित न्युजिल्याण्ड चौथो हुँदै सेमिफाइनलमा पुगेका थिए । 

    प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले भारतलाई १८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल खेलमा भने इंग्ल्याण्डले अस्ट्रेलियालाई आठ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । 

    जुलाई १४ तारिखमा लर्डसमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच खेलिएको फाइनल खेल निकै रोमाञ्चक थियो । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको न्युजिल्याण्डले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो । 

    जवाफी ब्याटिङमा ओर्लिएको इंग्ल्याण्डले पनि निर्धारित ओभरमा अलआउट हुनुअघि दुई सय ४१ रन नै बनाएको थियो । त्यसपछि खेल सुपर ओभरमा गएको थियो । अत्यन्तै रोमाञ्चक सुपर ओभरको खेल पनि बराबरीमा सकिएको थियो ।

    त्यसपछि ‘बाउन्ड्री काउन्ट ब्याक’ नियमका आधारमा इंग्ल्याण्डले उपाधि चुमेको थियो । पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागिता जनाउँदै आएको इंग्ल्याण्डले बाह्रौँ संस्करणमा आएर पहिलो पटक उपाधि चुम्ने अवसर पाएको थियो । 

    विश्वकपको फाइनल खेलमा इंग्ल्याण्डका बेन स्टोक्स म्यान अफ दी म्याच घोषित भएका थिए । त्यो विश्वकपमा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भने म्यान अफ दी म्याचको पुरस्कार हात पारेका थिए । 

    विश्वकपको बाहृौं संस्करणमा भारतका रोहित शर्मा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा रहेका थिए । उनले प्रतियोगितामा नौ पाली खेल्दै कुल ६ सय ४८ रन बनाएका थिए । उनले एउटै खेलमा एक सय ४० रन बनाएका थिए । उनले पाँच शतक र एक अर्धशतक हिर्काएका थिए ।

    अस्ट्रेलियाका डेभिड वार्नर सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । उनले १० पाली खेल्दै कुल ६ सय ४७ रन बनाएका थिए । उनले एउटै खेलमा एक सय ६६ रन बनाएका थिए । उनले तीन शतक र तीनवटा अर्धशतक पनि प्रहार गरेका थिए । 

    पाकिस्तानका सकिब अल हसनले आठ खेल खेल्दै दुई शतक र पाँच अर्धशतकको मद्दतले कुल ६ सय ६ रन बनाएका थिए । उनले एउटै खेलमा अविजित एक सय २४ रन बनाएका थिए । न्युजिल्याण्डका केन विलियम्सनले नौ पाली खेल्दै दुई शतक र दुई अर्धशतकको मद्दतले कुल पाँच सय ७८ रन बनाएका थिए । उनले एउटै खेलमा एक सय ४८ रन बनाएका थिए । इंग्ल्याण्डका जो रुटले ११ खेल खेल्दै दुई शतक र तीन अर्धशतकको मद्दतले कुल पाँच सय ५६ रन बनाएका थिए । उनले एउटै खेलमा एक सय सात रन बनाएका थिए ।

    यसैगरी सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा अस्ट्रेलियाका मिचेल स्टार्क पहिलो स्थानमा थिए । उनले कुल २७ विकेट लिएका थिए । न्युजिल्याण्डका लोकी फर्गुसनले २१ विकेट लिएका थिए । बंगलादेशका मुस्ताफिजुर रहमान र इंग्ल्याण्डका जोफरा आर्चरले २०—२० विकेट लिएका थिए । भारतका जसप्रित बुमराहले १८ विकेट हात पारेका थिए । 

    उक्त विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले न्युजिल्याण्डका केन विलियम्सनको कप्तानीमा ‘टिम अफ दी टुर्नामेन्ट’ पनि घोषणा गरेको थियो । आईसीसीले घोषणा गरेको उक्त टोलीमा इंग्ल्याण्डका जेसन रोय र भारतका रोहित शर्मालाई समावेश गरिएको थियो । 

    यसैगरी इंग्ल्याण्डका जो रुट, बंगलादेशका सकिब अह हसन, इंग्ल्याण्डका बेन स्टोक्स, अस्ट्रेलियाका एलेक्स केरी, अस्ट्रेलियाकै मिचेल स्टार्क, इंग्ल्याण्डका जोफरा आर्चर, न्युजिल्याण्डका लोकी फर्गुसन, भारतका जसप्रित बुमराह र न्युजिल्याण्डका ट्रेन्ट बोल्टले पनि स्थान पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार