शनिबार, जेठ ५ गते २०८१

विमल अस्ट्रेलिया प्रस्थान : खेल्न कि विदेश पलायन ?

विमल अस्ट्रेलिया प्रस्थान : खेल्न कि विदेश पलायन ?

अखबार दैनिक
शुक्रबार, असोज १२ २०८०
  • विमल अस्ट्रेलिया प्रस्थान : खेल्न कि विदेश पलायन ?

    काठमाडौँ । पछिल्लो समय राष्ट्रिय टोलीका थुप्रै फुटबल खेलाडी विदेश पलायन भएका छन् । लामो समय देशका लागि खेलेका फुटबल खेलाडी एकपछि अर्को गर्दै विदेश पलायन हुन थालेपछि त्यसको प्रत्यक्ष असर नेपाली खेलकुदमा परेको छ ।

    images

    अधिकांश नेपाली फुटबल खेलाडी अस्ट्रेलिया गएका छन् । यही क्रमलाई पछ्याउँदै अर्का चर्चित फुटबलर विमल घर्तिमगर पनि शुक्रबार विदेश लागेका छन् । सुरक्षित भविष्यको सपना सँगाल्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा चर्चित स्ट्राइकर विमलको नाम पनि जोडिएको हो । 

    विमल शुक्रबार अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । उनी कुन प्रयोजनका लागि अस्ट्रेलिया गएका हुन् भन्ने कुरा खुलेको छैन । केही समयअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका विमलले पनि यस विषयमा केही बताएका छैनन् ।

    यद्यपि, नेपाली फुटबलको नेतृत्वदायी निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भने विमल पुनः नेपाल फर्कने गरी अस्ट्रेलिया गएको दाबी गर्छ । ‘उहाँ (विमल) का आफन्तहरू पनि अस्ट्रेलियामा हुनुहुन्छ । यसअघि पनि उहाँ अस्ट्रेलिया गएर फर्कनु भएको हो । उहाँ फेरि पनि फर्कनुहुन्छ भन्ने विश्वास हामीलाई छ,’ एन्फाका प्रवक्ता सुरेश शाह भन्छन् ।

    अस्ट्रेलिया जाने विषयमा विमलले एन्फासँग पनि आधिकारिक रूपमा भने केही बताएका छैनन् । ‘अस्ट्रेलियामा थुपै नेपाली फुटबल क्लबहरू छन् । पछिल्लो समय तिनै क्लबहरू हाम्रा खेलाडीको गन्तव्य बनिरहेका छन् । उहाँ (विमल) पनि त्यस्तै क्लबबाट खेल्न जानुभएको हुनसक्छ । तर, आधिकारिक रूपमै भने उहाँले हामीलाई केही बताउनु भएको छैन,’ शाहले रातोपाटीसँग भने, ‘हामी उहाँसँग सम्पर्क गर्ने प्रयासमा छौं । असङ्ख्य समर्थकको माया पाएको विमल जत्तिको खेलाडी विदेश पलायन भएको कुरा सहजै विश्वास गर्न सकिँदैन ।’  

    २५ वर्षीय विमल कम उमेरमै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गर्ने खेलाडी हुन् । उनले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेलेका थिए । विमलले देशका लागि ३९ खेल खेलेर नौ गोल गरेका छन् । 

    विमलले देशका लागि उमेर समूहका विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । हालसम्म करिब ५० जना नेपाली  फुटबल खेलाडी विदेश पलायन भइसकेका छन् । अधिकांश नेपाली फुटबल खेलाडी अस्ट्रेलिया जाने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार