एजेन्सी - पार्टनरसँग डेटमा त सबै जना जान्छन् तर एक्लो व्यक्ति पनि डेटिङमा जान्छन् त ? यसको जवाफ हो ‘जान्छन्’ । एक्लै डेटमा जाने चलन अहिले बढ्दो छ । यसलाई मास्टर डेटिङ भनिन्छ । मास्टर डेटिङ वा सोलो डेटिङ गरिरहेका धेरै मानिस यसको आनन्द उठाइरहेका छन् । साथै आफ्नो अनुभव एक–अर्कासँग साटिरहेका छन् ।
सामाजिक सञ्जालमा मास्टर डेटिङको तस्बिर सेयर गर्दै मानिसहरू एक अर्कालाई सोलो डेटिङको मजा कसरी लिइरहेका छन् भनेर जानकारी लिइरहेका छन् । यदि तपाईं पनि मास्टर डेटिङ वा सोलो डेटिङ बारे जान्न चाहनुहुन्छ भने यहाँ यसबारे जानकारी दिइएको छ ।
मास्टर डेटिङ भनेको के हो ?
रिलेसनसिप एक्सपर्टका अनुसार एक्लै आफूसँग समय बिताएर आफूलाई जान्न र बुझ्न कोसिस गर्नुलाई मास्टर डेटिङ भनिन्छ । यो सोलो डेटिङमा मानिसहरू एक्लै घुम्न जान्छन्, आफूलाई ट्रिट दिन्छन्, उपहार दिन्छन् । साथै, आफूभित्र लुकेको प्रतिभालाई उजागर गर्छन् वा त्यसलाई निखार्नेबारे सोच्छन् । मास्टर डेटिङको यो चलन बेलायत र अमेरिकासहित अन्य थुप्रै देशमा बढ्दै गएको छ ।
मी–टाइममा रमाउने माध्यम हो
डेटिङ विशेषज्ञ मेलिसा स्टोन पछिल्लो समय मौलाउँदै गएको यो चलनलाई समर्थन गर्छिन् । उनले ग्ल्यामर युकेसँग यसबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मास्टर डेटिङको चलनले मी–टाइममा रमाउन र आफ्नो रुचि थाहा पाउन मौका मिल्छ । जसका कारण मानिसहरूले आफ्नो रुचि के मा छ, त्यो थाहा पाउँछन् र यसलाई बढाउन खोज्छन् ।’
उनले मानिसहरूलाई आफूलाई डेटमा लैजान र आफूलाई मन परेको क्रियाकलापमा आफूलाई संलग्न गराउन प्रोत्साहित गरिन् । उनका अनुसार मास्टर डेटिङ त्यो चिज हो जसको प्रयोग आफैँसँग गुणस्तर समय बिताउन, आफ्नो हेरचाह गर्न र आफ्नै साथमा रमाउनका लागि गर्ने गरिन्छ ।
केही नसोची मास्टर डेटिङमा रमाउनुहोस्
प्रसिद्ध डेटिङ कोच एमी नोबिलले ‘द न्युयोर्क पोस्ट’ सँगको कुराकानीमा मास्टर डेटिङबारे कुरा गर्दै भनिन्, ‘मास्टर डेटिङ भनेको आफ्नो चाहना, आवश्यकता र यस समयमा आफूलाई खुसी पार्ने चीज बारे सोच्नु र बुझ्नु हो । यो तपाईंको आफ्नै जुनूनलाई बाहिर निकाल्ने माध्यम पनि हो ।’
एमी नोबिलले मास्टर डेटिङको ट्रेन्डलाई अनुसरण गर्दा तपाईंले धेरै सोच विचार गर्नुपर्ने, चिन्तित हुनुपर्ने वा सतर्क हुनुपर्ने आवश्यकता नभएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘केही नसोचीकन सोलो डेटिङमा रमाउन सक्नुहुन्छ । तपाईंले आफूलाई प्रेम गर्नुभयो भने मात्रै अरू मानिस तपाईंप्रति आकर्षित हुनुहुनेछ । ’
स्मरण रहोस्, मास्टर डेटिङ विश्वका थुप्रै देशमा टिकटकमा भाइरल भएको छ र मानिसहरूले सोलो डेटिङमा गएको आ–आफ्नो भिडियो पनि सेयर गरेका छन् ।