बुधबार, जेठ ९ गते २०८१

धूपको धुँवाले दम रोगको जोखिम 

धूपको धुँवाले दम रोगको जोखिम 

अखबार दैनिक
मंगलबार, भदौ ५ २०८०
  • धूपको धुँवाले दम रोगको जोखिम 

    मकहाँ कतिपय मान्छे एक्कासी दम बढ्यो भने आउने गर्छन् । म उनीहरुलाई सोध्छु, ‘के चुरोट तान्नुहुन्थ्यो ?’
    उनीहरु भन्छन्, कहिल्यै चुरोट खाएको छैन ।

    images

    म फेरी सोध्छु, ‘कुनै पूजाआजामा लामो समय बस्नुभएको थियो ?’
    यसमा उनीहरुको ‘हो, थिएँ’ भन्ने जवाफ आउँछ । पूजापाठमा सहभागी हुनु त धार्मिक आस्थाको कुरा भयो । तर, त्यहाँ बालिने धूपको धुँवाले भने श्वासप्रश्वासमा सोझो असर गर्छ । बेलाबखत यस्तो धुँवामा बस्नु त सामान्य हो । यद्यपि जो नियमितजसो धूपको धुँवा भएको ठाउँमा बस्छन्, उनीहरुलाई फोक्सो एवं श्वासप्रश्वासको दीर्घकालिन समस्या हुने जोखिम उच्च हुन्छ ।


    यसले तुरुन्तै एलर्जी हुने भन्दा पनि लामो समयपछि समस्या ल्याउन सक्छ । अझ यसको बढी जोखिम उनीहरुलाई हुनसक्छ, जो विगतदेखि नै दम वा श्वासप्रश्वासको समस्याले सताइएका छन् ।

    पूजाआजामा होस् वा मठमन्दिरमा धूप अनिवार्य मानिन्छ । अधिकांशले घरकै पूजाकोठा, तुलसीको मठ आदिमा धूप बाल्ने गर्छन् ।

    तर, धेरैलाई हेक्का नभएको कुरा के हो भने धूपले मानव स्वास्थ्यलाई हानि गर्छ । त्यसको सुगन्ध हामीलाई मन परे पनि श्वासप्रश्वासमा यसले नकारात्मक असर गर्छ । धूपले प्रत्यक्ष रुपमै फोक्सो एवं श्वासप्रश्वास प्रणालीमा हानि गर्ने भएकाले सजगता अपनाउनैपर्छ ।

    धूपबाट जुन धुँवा निस्कन्छ, त्यो चुरोटको जस्तै हानिकारक भएको पाइएको छ । चुरोट खाँदै नखाने तर धूप बाल्नेहरुलाई पनि श्वासप्रश्वाससँग सम्बन्धित रोगहरु लागेको उदाहरण प्रशस्तै छन् । यसबारे भारतमा एउटा अध्ययन नै गरिएको थियो, मठमन्दिरमा बस्ने पूजारीहरुमा । त्यसबाट के पाइयो भने धूपको कारण उनीहरुमा श्वासप्रश्वास वा फोक्सोको रोग छ ।

    मठमन्दिरमा मात्र होइन गुम्बामा बालिने धूपले गर्दा पनि फोक्सोलाई हानि गरेको पाइएको छ । थाइल्यान्ड, चीनलगायतमा गरिएको एक अध्ययनबाट यो कुरा पुष्टि भएको हो ।

    नेपालको सन्दर्भमा पनि यस्तै हुनसक्छ भन्ने अनुमान छ । मठमन्दिर, गुम्बा आदिमा अत्याधिक धूप बाल्ने गरिएको छ । तर, यसलाई सोझै बाल्न मिल्दैन भन्न सकिने अवस्था पनि छैन । किनभने यो धार्मिक अस्थासँग जोडिएको कुरा हो । यद्यपि धूपको धुँवाले उनीहरुलाई दमको रोगी बनाउँछ भन्ने चाहिँ पक्का हो ।

    प्राय धूप बाल्ने ठाउँ खासगरी घरमा अलि साँघुरो र झ्याल–ढोका नभएको ठाउँमा हुन्छ । यस्तो ठाउँमा धूप बाल्दा त्यसबाट फैलिएको धुँवा सोझै मान्छेको फोक्सोमा पुग्छ । त्यसैले धूप बाल्नैपर्ने भएपनि खुला ठाउँमा बाल्नुपर्छ । वा पूजापाठ गर्ने ठाउँ खुला र हावा आउजाउ गर्ने खालको बनाउनुपर्छ । दम वा श्वासप्रश्वासको कुनैपनि रोग भएकाले मठमन्दिर, गुम्बा वा पूजापाठमा प्रयोग हुने धूपको धुँवामा लामो समय बस्न हुँदैन ।

    धूप बाल्दै नबालौं भनेर म भन्न सक्दिन । तर, यसमा सर्तकता अपनाउनु जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार