बुधबार, मंसिर ५ गते २०८१

संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी

संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी

अखबार दैनिक
मंगलबार, भदौ ५ २०८०
  • संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी

    ५ भदौ, दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।

    images

    यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो ।

    अखिल क्रान्तिकारीले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारीका विष्णु चौधरी, अभयप्रताप चौबे र गणेश पौडेलले सोमबार प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्यार्थी संघसँग भएको सम्झौता रद्द गर्न माग गरेका छन् ।

    बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ ।

    यसअघि नेविसंघको दाङ जिल्ला समितिले गत असार ९ गते सेवा आयोगको कार्यालय र १२ गते आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा ताला लगाएको थियो ।

    त्यस्तै असार ३ गते विश्वविद्यालयको केन्द्रीय कार्यलयमा आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले ताला लगाएको थियो । दुई विद्यार्थी संगठनले लगाएको ताला ६ दिनअघिमात्र खोलिएको थियो ।

    यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरु स्थगित भएका थिए । सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।

    सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरी परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएको छ ।

    तालाबन्दीपछि विश्वविद्यालयका सबै कामहरु ठप्प भएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ