टीकापुर । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व नाचगान गरेर मंगलबार भव्यताका साथ मनाएका छन् ।
यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ ।
थारू कल्याणकारीसभाका कार्यवाहक सभापति माधव चौधरीले गुरही गाउँबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने र बाली हराभरा भई सप्रने जनविश्वास समेत रहँदै आएको बताए । उनले यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिएको बताए ।
गुरही (गाइने किराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुनेजस्ता रोग निको हुने गरेको विश्वास रहेको छ । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनुका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ ।
धनगढीको क्याम्सचोक, शान्तिनगर, उर्मा, भादागाउँ, बडहरालगायत थारू समुदाय बसोबास गर्ने जिल्लाका विभिन्न पालिकामा सामूहिकरूपमा भव्यताका साथ मनाएका छन् ।
‘गुरही’ पर्वका अवसरमा मंगलबार धनगढी उपमहानगरपालिका, कैलारी, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाले स्थानीय स्तरमा बिदा दिइएको थियो ।