बुधबार, मंसिर ५ गते २०८१

सुदूरपश्चिममा ओल्के संक्रान्ति मनाइँदै, आज सार्वजनिक बिदा

सुदूरपश्चिममा ओल्के संक्रान्ति मनाइँदै, आज सार्वजनिक बिदा

अखबार दैनिक
शुक्रबार, भदौ १ २०८०
  • सुदूरपश्चिममा ओल्के संक्रान्ति मनाइँदै, आज सार्वजनिक बिदा

    धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर एकआपसमा मनाइने ओल्के पर्वका अवसरमा आज शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

    images

    भाद्र संक्रान्तिका दिन मनाइने ओल्के पर्वको तयारीस्वरूप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठामीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरु पनि ओल्के मनाउन घर फर्किने गरेका छन् ।

    ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छरछिमेकीलाई सगुनका रूपमा कर्कलाको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशिर्वाद साटासाट गर्ने मौलिक परम्परा सुदूरपश्चिममा रहेको छ ।

    ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी पुरी, बावर, माणा, निसौसे, गतानी डुब्का लगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन रहेको छ । माइतीघरमा आइपुग्ने ज्वाइँछोरीलाई मीठा खानाका परिकारका साथै शक्ति र गच्छे अनुसारको दान दक्षिणा दिएर स्वागत गर्ने परम्परा छ ।

    यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औंला रङ्गाइ रमाइलो गर्ने गरिन्छ । यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औंलाको छाला रातो हुने भई यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको संक्रमणबाट बच्न सकिने विश्वास सुदूरपश्चिमेलीमा छ ।

    रोगको संक्रमणबाट बच्न हातखुट्टा रंगाइने हुँदा यसलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडको रूपमा समेत लिइने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ