मंगलबार, जेठ ८ गते २०८१

डेंगु अपडेट: ७५ जिल्लामा फैलियो, १४ हजार बिरामी, १० जनाको मृत्यु

डेंगु अपडेट: ७५ जिल्लामा फैलियो, १४ हजार बिरामी, १० जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , साउन ३२ २०८०
  • डेंगु अपडेट: ७५ जिल्लामा फैलियो, १४ हजार बिरामी, १० जनाको मृत्यु

    काठमाडौं- पछिल्लो केही दिनदेखी नेपालमा डेंगु संक्रमण बढिरहेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरी ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।

    images

    ७५ जिल्लामा गरेर पुसदेखि अहिलेसम्म १४ हजार ३५७ जनामा डेंगु आधिकारिक रुपमा पुष्टि भइसकेको छ। यसमध्ये १० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार ४ वटा जिल्लामा ५ सयभन्दा बढी बिरामी फेला परेका छन्। सबैभन्दा बढी सुनसरीमा पुसदेखि हालसम्म देशभर देखिएका कुल संक्रमितमध्ये आधा बिरामी छन्। सुनसरीमा ७ हजार ४९५ बिरामी फेला परिसकेका छन्। 

    सुनसरीपछि मोरङमा एक हजार ६७६, धादिङमा एक हजार ३२० र झापामा ९१३ संक्रमित फेला परेका छन्।

    काठमाडौंमा उपत्यकामा पनि संक्रमण देखिने क्रम बढ्दो छ। काठमाडौंमा १९९, ललितपुरमा ११७ र भक्तपुरमा १०४ जनामा आधिकारिक रुपमा डेंगु पुष्टि भएको तथ्यांक छ।

    डेंगु के हो ?
    डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो मानिसबाट मानिसमा भने सर्दैन। तर डेंगु संक्रमण भएको व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेर फेरि अर्को मानिसमा त्यही लामखुट्टेले टोक्यो भने सर्छ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ। सहरी क्षेत्रका सवारी साधनका फालिएका टायर, टिनका बट्टा, गमला, खाली ड्रम, पानी ट्यांकी तथा साना खाल्डाखुल्डीहरुमा यो लामखुट्टे बढी भेटिन्छ।

    डा शेरबहादुर पुनका अनुसार डेंगु एडिस एजेप्टाई र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। यसले मानिसमा १०५ डिग्री फरेनहाइटसम्म ज्वरो ल्याउन सक्छ। डेंगुका बिरामीमा मांसपेसी अत्यधिक दुख्ने तथा आँखको गेडी दुख्ने समस्या धेरैमा हुन्छ।  वरिष्ठ माइक्रोबायोलोजिष्ट मेघराज बञ्जाराका अनुसार संक्रमित लामखुट्टे टोकेमा तीनदेखि ५ दिन भित्रमा मानिसमा डेंगुको लक्षण देखिन्छ। डेंगु भाइरस डेन १, डेन २, डेन ३ र डेन ४ गरी चार सरोटाइपका हुन्छन्। 

    चिकित्सकहरुका अनुसार डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोम गरी तीन प्रकारका छन्। क्लासिक डेंगु सामान्य प्रकारको हो। यो आफंै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। डेंगु हेमोरेजिक र डेंगु सक सिन्ड्रोम भने अलिक जोखिमयुक्त हुन्छ। आन्तरिक रक्तश्राव गराएर मानिसको मृत्यु गराउने खालको हुन्छ।

    लक्षण
    – उच्च ज्वरो
    – जीउ दुख्ने
    – आँखाको गेडी तथा पछिल्लो भाग दुख्ने
    – जोर्नी दुख्ने
    – शरीरमा बिमिरा आउने
    – वाकवाकी लाग्ने 
    – पेट दुख्ने
    – नाक वा गिजाबाट रगत बग्ने
    – रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
    – बेहोस हुने आदि।

    बच्ने उपाय
    – डेंगुबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको नै लामखुट्टेको टोकाइबाट बच्ने हो।
    – बिरामी भइसकेपछि लक्षणका आधारमा उपचार।
    – बिरामी भइसकेपछि चिकित्सकको सल्लाह अनुसार प्यारासिटामोल सेवन गर्ने।
    – लामखुट्टोको वृद्धि विकास रोक्ने।
    – पानी जम्ने भाँडाहरु गमला, फूलदानी, ड्रम, टायर आदिमा पानी जम्न नदिने।
    – यस लामखुट्टेले धेरैजसो दिउँसो टोक्ने भएकाले बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउने।
    – सुत्दा झुलको अनिवार्य प्रयोग गर्ने।
    – लामखुट्टे भगाउने धुप तथा मल्हम दल्ने।
    – घर तथा कार्यालय वरिपरि सफा–सुग्घर राख्ने।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार