एजेन्सी - तपाईं आफ्नो विवाह वा परिवारभन्दा बढी सोसल मिडिया वा स्मार्ट फोनलाई बढी ध्यान दिनुहुन्छ ? वा तपाईंहरु बीच कुनै कुरा लुकेको छ वा तपाईंले केही ठुलो वा महँगो कुरा आफ्ना पार्टनरसँग सरसल्लाह नगरीकन किन्नुभएको छ भने यस्ता बानीले तपाईंको विवाह बरबाद गर्नसक्छ । यहाँ आज हामी तपाईंलाई यस्ता केही गल्तीबारे जानकारी दिँदै छौँ जसले श्रीमान् श्रीमतीको सम्बन्धलाई बिगार्न सक्छ ।
कुनै कुराको लत लाग्नु
एभरीडेहेल्थका अनुसार यदि तपाईंलाई सोसल मिडिया, मदिरा, ड्रग, सपिङ, जुवा आदिको लत लागेको छ भने यसले तपाईंको विवाहमा दरार निम्त्याउन सक्छ । यस्तो स्थितिमा तेस्रो व्यक्ति तपाईंको सम्बन्धमा निकै सजिलै प्रवेश हुन सक्छन् र विवाहमा धोकाको परिस्थिति निम्तिन सक्छ । यति मात्रै होइन, यदि तपाईं रातदिन फोनमा झुण्डिरहनु हुन्छ भने पनि यसले तपाईंको वैवाहिक सम्बन्धलाई लामो समय टिक्न दिँदैन ।
कुरा नगर्नु
यदि तपाईंहरू बीचको कुराकानी हरेक पटक झगडामा परिणत भयो भने, यो चेतावनी चिन्ह बन्न सक्छ । तपाईंहरुले एक अर्काको कुरा शान्तिपूर्वक सुन्न थाल्नु भयो भने र राम्रो वातावरणमा राम्रो भाषा प्रयोग गर्नुभयो भने बिग्रिएको कुरा पनि बन्न सक्छ । यो गाह्रो छ, तर धेरै आवश्यक छ ।
पार्टनरलाई शत्रु ठान्नु
तपाईंको कुनै दिन राम्रो नहुन पनि सक्छ । यसका लागि पार्टनरलाई गलत नदेखाउनुहोस् । त्यसैले झगडा गर्नुको साटो आफ्नो केयर गर्नुहोस् र पार्टनरलाई तपाईंको दिन खराब भएको र केही स्पेस चाहिएको जानकारी दिनुहोस् ।
आफूहरू बीच कुनै तेस्रो व्यक्तिलाई ल्याउनु
आमाबाबु वा दाजुभाइसँग धेरै नजिक भए पनि श्रीमान्–श्रीमतीबीचको झगडामा तेस्रो व्यक्ति ल्याउने प्रयास गर्नुभयो भने यसले तपाईंबीचको समस्या घटाउने होइन बढाउने काम गर्छ ।
स–सानो कुरामा बहस
स–सानो कुरामा अल्झिएर झगडा गर्न थाल्नुभयो भने यसले सम्बन्धमा तिक्तता निम्त्याउँछ । तपाईंहरु बीचको सम्बन्ध राम्रो होस् भन्ने चाहनुहुन्छ भने एक अर्कामाथि विश्वास गर्नुहोस् र यस्ता खराब बानीहरू त्यागेर सम्बन्धलाई जोगाउने प्रयास गर्नुहोस् ।