अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा भएका सबै डिभाइसमा ह्वाट्सयापलाई प्रतिबन्ध लगाइएको छ । सोमवार संसद्का सबै कर्मचारीलाई पठाइएको स्मरणपत्रमा यसको जानकारी दिइएको हो ।ह्वाट्सयापले प्रयोगकर्ताको डेटा संरक्षण, भण्डारण गरिएको डेटाको इन्क्रिप्शन र यो याप प्रयोग गर्दा हुने सम्भावित सुरक्षा जोखिमका बारेमा पारदर्शिता नअपनाएको अफिस अफ साइबरसिक्योरिटीले निष्कर्ष निकालेको स्मरणपत्रमा उल्लेख छ ।
संसद्का प्रमुख प्रशासकीय अधिकृतले पठाएको उक्त स्मरणपत्रले ह्वाट्सयापको विकल्पमा माइक्रोसफ्टको टीम्स, अमेजनको विकर, सिग्नल र एप्पलको आईमेसेज र फेसटाइम प्रयोग गर्न सुझाव दिएको छ ।ह्वाट्सयापको माउ कम्पनी मेटाले अमेरिकी संसद्को यस कदमप्रति असहमति जनाएको छ । अन्य यापको तुलनामा ह्वाट्सयापले उच्च सुरक्षा उपलब्ध गराएको मेटाका प्रवक्ताले बताएका छन् ।
गत जनवरी महिनामा इजरायली स्पाईवेयर कम्पनी पारागन सोलुशन्सले आफ्ना प्रयोगकर्ताहरूलाई निशाना बनाएको ह्वाट्सयापले स्वीकार गरेको थियो ।अमेरिकी संसद्ले विगतमा पनि आफ्ना कर्मचारीको डिभाइसमा अन्य यापहरूमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०२२ मा सुरक्षाको विषय उठाएर टिकटकमाथि अमेरिकी संसद्ले प्रतिबन्ध लगाएको थियो ।