काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणपछि सरकार विकृतिको डंगुर सफा गर्ने अभियानमा लागेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो दुई प्रकरणपछि सरकार वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाइँमा लागेको बताएका हुन्।
यस्तै, उनले हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि रहने मनोविज्ञानले जनतामा आक्रोश बढाइरहेका बेला आफूले इतिहासका दुई घटना खोतल्ने प्रयास गरेको र यो अभियान नरोकिने बताए।
‘हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आममनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो। र नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरू भएको छ। नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानपछि सरकारले कानुनको सर्वोच्चता मात्रै प्रमाणित गरेको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानुभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरू भएको छ। यो शुद्धीकरण यत्तिमा रोकिने छैन। यो निरन्तर अगाडि बढ्नेछ।’
उनले लोकतन्त्रभित्र देखापर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने ऐतिहासिक मापदण्ड योपटक राम्रोसँग स्थापित भएको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवासलाई निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेको समेत बताएका छन्।
‘हिजोबाट प्रधानमन्त्री निवासलाई निल्न खोज्ने ललिता निवासका अभियुक्तहरू पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीका ठगहरू पक्राउ पर्न थालेका छन्। वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने सुशासनको या लडाइँमा मलाई सदन र जनताको अझै धेरै हौसला र समर्थनको आवश्यकता महसुस गरेको छु,’ उनले भने।