काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिको टोली नेपालमा राजनीतिक भेटघाट गरेर फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागमा दक्षिण एसिया हेर्ने राजनीतिक प्रमुख छु मिनको टोली सोमबार स्वदेश फर्किएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीकी नेतृ मिनको टोलीले शनिबार र आइतबार नेपालका अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेको थियो । आइतबार दिउँसो नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर मिनको टोलीले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेट गरेको थियो ।
उनीहरूबीच शिष्टाचार भेटघाट भएको एमाले कार्यालयले जनाएको छ । एमाले विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘प्राय: सबै दलका नेताहरूसँगको भेटवार्तामा गरिएको छ । त्यसै क्रममा हाम्रो अध्यक्षसँग पनि भेटघाट भएको हो । दुई पार्टीबीचको सम्बन्ध र समानताका विषयमा छलफल भयो ।’
दुई देशका विषयमा पनि छलफल भएको रिजालले बताए । ‘कुनै छुट्टै एजेन्डा वा विशेष एजेन्डामा छलफल भएको होइन । दुई देश र दुई पार्टीबीचको सम्बन्धकै विविध आयमबारे छलफल भएको हो,’ उनले भने ।
मिनको टोलीले आइतबार नै माओवादी केन्द्रका महासचिव देव गुरुङसँग भेटवार्ता गरेको थियो । माओवादीका महासचिव गुरुङ र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र मिनको टोलीबीच भेटवार्ता भएको हो । भेटमा मिनको टोली लुम्बिनीको पर्यटन विकासका सन्दर्भमा कुरा उठाएको माओवादी केन्द्रका महासचिव गुरुङले बताए ।
उनका अनुसार पर्यटनलाई व्यवस्थित गर्ने हो भने लुम्बिनीलाई व्यवस्थित गर्नुपर्छ भन्ने मिनको टोलीको भनाइ थियो । दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे पनि कुराकानी भएको गुरुङले बताए ।
मिनको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि उनीहरूले भेट गरेका थियो । राप्रपा केन्द्रीय कार्यालयमा भएको भएको भेटवार्तामा चीन सम्बन्ध, दुई पार्टी बीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थितिबारे छलफल भएको प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिले भेटवार्ता गरेको थियो । नेतृ मिनको टोलीसँग होटल द्वारिकामा आइतबार दिउँसो भएको भेटवार्तामा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सांसदहरू डा.स्वर्णिम वाग्ले, शिशिर खनाल, केन्द्रीय सदस्यहरू लिमा अधिकारी र प्रतिभा रावल सहभागी थिए ।
भेटवार्तामा नेपाल र चीनका समसामयिक राजनीति तथा आपसी चासोका विषयमा कुराकानी भएको रास्वापाले जनाएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले, ‘उहाँको नेपाल भ्रमण भएका बेलामा सबै राजनीतिक पार्टी भेटघाटका क्रममा हामीसँग पनि भेटवार्ता गर्नु भएको हो । दुई देशबीचको सम्बन्ध र पार्टी टू पार्टीबीचको सम्बन्धबारे कुराकानी भएको छ ।’
उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्धन विस्तार गर्ने विषय वस्तुमा छलफल केन्द्रित भएको थियो ।
मिनको टोलीले आइबार नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल दुई पार्टी र दुई देशबीचको सम्बन्धबारे छलफल भएको बताए । यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र चिनियाँ टोलीबीच भेटवार्ता भएको थियो । शनिबार बिहान मिनको टोलीले पूर्वप्रधानमन्त्री भट्टराईको निवासमा पुगेर भेटेको थियो ।
भेटमा नेपाल र चीनबीचका आपसी हितका मुद्दा र हिमाली क्षेत्रमा बदलिँदो भूराजनीतिबारे छलफल भएको भट्टराईले जनाकारी दिए । यस्तै नेसपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच द्विपक्षीय सम्बन्ध लगायतका विषयमा सौहाद्रपूर्ण छलछल भएको उनको भनाइ छ । मिन नेतृत्वको चिनियाँ टोलीले कांग्रेस नेताहरूसँग औपचारिक भेटवार्ता गरेको जानकारी छैन । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चिनियाँ टोली र कांग्रेस नेताबीच भेटवार्ता नभएको बताए ।