मंगलबार, वैशाख १८ गते २०८१

‘प्लस साइज’का लागि लुगा पाउनै गाह्रो

‘प्लस साइज’का लागि लुगा पाउनै गाह्रो

अखबार दैनिक
आइतबार, असार ३ २०८०
  • ‘प्लस साइज’का लागि लुगा पाउनै गाह्रो

    काठमाडौं । समृद्धि घिमिरे कक्षा चार पढ्दादेखि नै अन्य साथीको तुलनामा अलि मोटी थिइन् । कक्षा १० सम्ममा त उनले आफ्नो साइजका लुगा, त्यसमा पनि खासगरी ब्रा त पाउन नै छाडिन् । उनी लुगा जसोतसो जोहो गर्थिन् तर ब्रा भने मिल्दै नमिल्ने हुन्थ्यो । ढाडको साइज पाए कपको साइज नपाउने समस्या धेरै भोगिन् उनले ।

    images

    ११ कक्षामा पुग्दा त समृद्धिलाई आफ्नो साइजको भित्री लुगा पाउन नै गाह्रो भयो । कतै पाए पनि एकदमै महंगो पर्थ्यो । यो समस्या भोगिरहँदा उनलाई लाग्यो यो आफ्नो मात्र होइन, आफूजस्ता धेरै प्लस साइजका महिलाले भोगिरहेका होलान् । त्यसपछि उनलाई प्लस साइजको लुगा नै बनाउने सोच आयो ।

    सोच त आयो तर कहाँबाट कपडा किनेर ल्याउने, कस्तो डिजाइन बनाउने केही टुंगो लगाउन सकिनन् । त्यसैले उनी त्यसको बारेमा बुझ्न बजार डुल्न थालिन् । पढाइ र कामलाई सँगसँगै अगाडि बढाउनुपर्ने अवस्था थियो । उनी १९ वर्षको मात्र भएकाले साथीभाइ र परिवारले पनि पछि गर्न सुझाए । तर उनले भने पछि नहट्ने निधो गरिन् । कपडाहरू किनेर ल्याइन्, प्लस साइजका लागि लुगा, स्विमिङ सुट र बिकिनी बनाउन सुरु गरिन् । तर स्विमिङ सुट र बिकिनीको लागि प्लस साइजको कप पाउन उनलाई गाह्रो भयो । यो कुरा उनले आफ्नो साथीलाई सुनाइन् । ‘पहिले प्लस साइजको राम्रो लुगा बनाउन अनि पछि ब्रा र स्विमिङ सुट बनाउन’ उनको साथीले सल्लाह दिइन् ।

    साथीको सल्लाहपछि पहिले प्लस साइजको लुगा बनाउने र त्यो राम्ररी बिक्री भने पछि भित्री लुगा बनाउने उनले योजना बनाइन् । तीन लाख रुपैयाँको लगानीबाट उनले सुरु गरिन् ‘व्यरिफाइ’ जहाँ प्लस साइजको लागि ज्याकेट, टिसर्ट र वानपिस सबै प्रकारका लुगा पाइन्छ ।

    बीबीए पढ्दै गरेकी उनलाई फेसन डिजाइनसम्बन्धी कुनै ज्ञान थिएन । त्यसैले उनले पहिले लुगाहरू डिजाइन गर्न डिजाइनर राखिन् । डिजाइनरले बनाएको लुगा पहिले उनी आफैंले लगाइन् तर उनलाई आरामदायी लागेन । आफू प्लस साइज भएकाले अरू प्लस साइजलाई कस्तो आरामदायी र स्टाइलिस हुन्छ आफैं डिजाइन गर्न सक्छु भन्ने लागेर डिजाइन पनि आफैं गर्न थालिन् ।

    लुगाको डिजाइन र कपडा राम्रो हुनुका साथै सस्तो मूल्यमा उपलब्ध गराउनुपर्छ भन्ने उनलाई लाग्यो । युवालाई बढी प्राथमिकता दिने योजनासहित उनले केही प्लस साइज लुगाहरू बजारमा ल्याइन् । जसलाई ग्राहकहरूले रुचाए पनि ।

    ‘सस्तो मूल्यमा डिजाइनर प्लस साइज लुगा बनाउने दौडमा छिन् समृद्धि । बजारमा पाइने प्लस साइजका लुगा सामान्य साइजभन्दा महंगा हुन्छन् । विद्यार्थीहरूलाई त बढी मूल्य तिर्न गाह्रो हुन्छ । त्यसैले सस्तो मूल्यमा डिजाइनर प्लस साइजका लुगाहरू बन्दै छन्,’ उनी भन्छिन् ।

    उनले प्लस साइज लुगा बजारमा ल्याइन् तर उनलाई लुगाभन्दा पनि प्लस साइजको भित्री पहिरन बनाउनु थियो । त्यसको लागि उनले चीनबाट सामान मगाउने सोच बनाइन् । तर चीनबाट सामान मगाउन धेरै लगानी चाहियो । त्यसको तयारीमा उनी जुटेकी छिन् । यो असारभित्रमा प्लस साइजको लागि स्विमिङ सुट र ब्रा बजारमा ल्याउने तयारीमा छिन् उनी ।

    पछिल्लो समय प्लस साइजको लागि त बरु बजारमा केही विकल्प छन् । तर एकदमै सानो साइजको पनि मान्छेहरू हुन्छन् उनीहरूको लागि त झन् लुगाहरू पाउन गाह्रो छ । ‘स्मल’, ‘मिडियम’बाट साइज सुरु हुन्छ एक्र्टा स्मलको लागि त झन् लुगा पाउन गाह्रो हुन्छ । त्यसैले प्लस साइजसँग, एकदमै सानो र हरेक साइजको लागि हुने कपडा बजारमा ल्याउने तयारीमा पनि छिन् उनी ।

    प्लस साइज युवतीहरु फेसनेबल र सुन्दर देखिन सक्दैनन् भन्ने सोच धेरैको हुन्छ । तर फेसनेबल र स्टाइलिस देखिन फिगर र उमेरले फरक पार्दैन भन्ने लाग्छ समृद्धिलाई । ‘यदि हामीले प्लस साइजको लुगा राम्रो डिजाइनमा बनाउन सक्यौं भने प्लस साइजका महिलाहरू आफ्नो लुगामा आत्मविश्वासको साथ हिंड्न सक्थे,’ उनी भन्छिन् ।

    सामान्य साइजका महिलाका लागि त धेरै डिजाइनका लुगाहरू बजारमा उपलब्ध छन् । तर प्लस साइजको  लागि भने धेरै डिजाइनमा लुगा नपाउने समस्या समाधानका लागि ‘व्यरिफाइ’ सुरु गरेको उनी सुनाउँछिन् ।

    व्यरिफाइले अहिले अनलाइनमार्फत लुगा बेच्ने गर्छ । साथै उपत्यकाका लबिम मल, छाया सेन्टरमा हुने स्टलमार्फत पनि व्यरिफाइको प्लस साइज लुगा किन्न सकिन्छ । व्यरिफाइले भविष्यमा महिलाको प्लस साइजको लुगासँगै पुरुषको प्लस साइज लुगा र जुत्तासमेत बजारमा ल्याउने लक्ष्य राखेको समृद्धि सुनाउँछिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ