सोमबार, मंसिर ३ गते २०८१

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया चाँडो टुङ्ग्याउन सांसदहरूको ताकेता

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया चाँडो टुङ्ग्याउन सांसदहरूको ताकेता

अखबार दैनिक
सोमबार, जेठ २९ २०८०
  • प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया चाँडो टुङ्ग्याउन सांसदहरूको ताकेता

    काठमाडौँ । सांसदहरूले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटो टुङ्ग्याउन जोड दिएका छन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीहरुले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीमाथिको तथ्यमा आधारित भएर छलफल गर्दै चाँडो टुङ्ग्याउनुपर्ने धारणा राखेका हुन् । 

    images

    ‘तथ्यमा आधारित भएर छलफल गरौँ, सुनेका भरमा आएका उजुरीलाई प्राथमिकता नदिऔँ । एकैदिनमा उजुरी कर्तासँग छलफल सकौँ’, नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको भनाइ छ ।  जसपा सांसद प्रकाश अधिकारीले पनि प्रधानन्यायाधीश प्रक्रिया चाँडै टुङ्ग्याउनुपर्ने बताए । ‘यो प्रक्रिया चाँडै टुङ्ग्याउनुपर्छ । लामो समय प्रधानन्यायाधीश खाली भइसक्यो’। उनले भने, ‘उजुरी कर्तासँग धेरै समय नलगाऔँ । एकैदिनमा टुङ्ग्याउन पनि सकिन्छ ।’

    पूर्व मन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्कीले उजुरीका लागि उजुरी गर्ने विकृति बढेको बताए । ‘उजुरीकर्तासँग २ दिन छलफल गर्ने समय बढी भयो’, उनले भने, ‘प्रधानन्यायाधीशका लागि धेरै समय उजुरीमै अलमलियौँ ।उजुरी कर्तासँग १ दिनमा सकौँ’, कार्कीको भनाइ छ ।  एमालेका सांसद महेश वर्तौलाले उजुरीकर्ताहरू आफूले दिएको उजुरी ठिक छ भन्नका लागि म्योसज क्याम्पेनिङ गर्ने र सदस्यहरूलाई भेट्ने लगायतका कामलाई निरुत्साहित गर्नुपर्ने बताए । 

    ‘एउटै मानिस राजदूत नियुक्तिमा पनि उजुरी, न्यायाधीश र प्रधानन्यायाधीश नियुक्तिमा पनि र अन्य संवैधानिक नियुक्तिमा पनि उजुरी लिएर आउँछन्’, उनले भने, ‘त्यो केबल पब्लिसिटी स्टण्टका लागि मात्रै हो । त्यसलाई पनि नियन्त्रण गर्नुपर्छ । उजुरीकर्तासँग १ दिन मात्रै छलफल गरौँ ।’ एमालेकै अर्का सांसद पदम गिरीले चर्चामा आउन उजुरी दिने र मानहानि गर्नेको लर्को भएको बताए । ‘प्रधानन्यायाधीशको विषयमा आएका बेनामे उजुरीमा दम छ जस्तो लाग्दैन त्यस्तालाई छलफलमा ल्याउनु पनि पर्दैन’, गिरीले भने, ‘उजुरी कर्तासँगको छलफल १ दिनमै सकाउनु ठिक हुन्छ ।’ उनले केही उजुरीकर्ताहरूले छलफलमा नबोलाए बहिष्कार गर्ने भनेर धम्कीसमेत आउने गरेको बताए । दिएका छन् ।

    माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्माले आएका उजुरीमध्ये छलफलका लागि आवश्यक देखिएका उजुरीलाई मात्रै छलफलमा ल्याउनुपर्ने बताए । उनले भने, ‘कार्यतालिकाभित्रै काम सकाउँ, मुलुकलाई प्रधानन्यायाधीश समयमै दिउँ ।’ रास्वपाका सांसद डीपी अर्यालले बैठकमा समयमै उपस्थित भएर समयमै छलफलका लागि उजुरीकर्ता बोलाएर छलफल गर्नुपर्ने बताए  ।‘ सबैलाई एकैपटक बोलाउनु ठिक हुँदैन । हामीलाई आन्तरिक छलफलका लागि एक घण्टाको समय निकालौँ’, अर्यालको भनाइ छ । 

    समितिका सचिव पदम पाण्डेयले आफुलाई पनि उजुरी कर्ताले फोन गरेको भन्दै बुधवार ११ बजेदेखि बैठक बोलाएर दिनभर छलफल गरी टुङ्ग्याउन पनि सकिने बताए ।  ‘एकजना व्यक्ति पेशेवर उजुरीकर्ता पनि हुनुहुन्छ भन्ने हामीलाई पनि लागेको छ । उहाँले हरेकजस्तो नियुक्तिमा उजुरी गर्नु भएको छ’, उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ