त्यतिबेला रेणु १८ वर्षकी मात्रै थिइन् । उनका बुवा पुष्प कमल दाहाल प्रचण्डले फेब्रुअरी सन् १९९६ मा नेपालमा राजतन्त्रविरुद्ध सशस्त्र आन्दोलनको बिगुल फुकेका थिए । त्यतिबेला प्रचण्डको उमेर ४४ वर्ष थियो होला ।
रेणु भन्छिन् कि त्यो बन्दुक न्यायका लागि थियो, निरङ्कुश शासनविरुद्ध थियो । प्रचण्ड आफ्नो परिवारसँग ६–६ महिनासम्म टाढा बस्ने गर्दथे । तर नेपालको तत्कालीन राजतन्त्र विरुद्ध लड्दा प्रचण्डले आफ्ना छोरीहरू पनि छन् भन्ने कुरा कहिल्यै बिर्सन सकेनन् । आफू पनि बुवा हो, जिम्मेवारी पनि छ भन्ने महसुस हुन्थ्यो, उनलाई ।
प्रचण्डलाई आफ्नो लडाइ दुई–चार महिनामा टुङ्गिने होइन, यस्तो अवस्थामा आफ्ना छोरीहरूको के होला भन्ने चिन्ता थियो । प्रचण्ड तीन छोरीका पिता थिए । जेठी छोरी ज्ञानु, त्यसपछि रेणु र कान्छी छोरी गङ्गा ।
‘जनयुद्ध’ सुरु हुनुभन्दा तीन वर्षअघि ज्ञानुको सन् १९९३ मा विवाह भएको थियो । राजतन्त्र विरुद्ध सशस्त्र आन्दोलन चर्किँदै गर्दा दुई छोरी रेणु र गङ्गा हुर्किरहेका थिए ।
प्रचण्डकी छोरी रेणुको विवाहलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) भित्र बैठक बसेको थियो । पार्टीले रेणुको विवाहको प्रस्ताव पारित गरेको थियो । यो जनयुद्ध सुरु भएको एक वर्षपछि अर्थात् सन् १९९७ को कुरा थियो । रेणुलाई पार्टीको निर्णय र प्रस्तावबारे जानकारी दिइयो ।
त्यतिबेला रेणु १९ वर्षकी थिइन् । उनलाई केटा भेट्न लगाइयो । केटा भेट्न उनी भारतको जालन्धर जानुपर्यो । रेणु केटालाई भेट्न जालन्धर गइन् ।
उनले हाँस्दै भनिन्, ‘मानिसहरू केटी हेर्न जान्छन् तर म केटा हेर्न गएँ । केटाको घरमा दुई दिन बसेँ । तर म बिहे गर्ने मुडमा थिइनँ । त्यतिबेला म सानै पनि थिएँ । तर बुबा हामीलाई सँगै राख्ने स्थितिमा हुनुहुँदैनथ्यो । बिहे गर्ने पार्टीको निर्णय थियो । तर मैले आफ्नो भावना बुबालाई बताउन सक्थेँ । बुवालाई आफू विवाह गर्ने योजनामा नभएको बताएँ । तर बुवाले भन्नुभयो, ‘क्रान्तिका लागि मानिस आफ्नो ज्यान दिइरहेका छन्, तिमी बिहे पनि गर्न सक्दिनौ ? तिम्रो विवाह क्रान्तिका लागि निकै महत्त्वपूर्ण छ । ’ त्यसपछि म निःशब्द भएँ ।’
रेणु भन्छिन्, ‘कुनै क्रान्ति हुन्छ भने क्रान्तिको काम मात्रै गरिँदैन । जीवनका अन्य बाँकी काम पनि यतिबेला हुने गर्छन् । क्रान्ति र प्रेम सँगसँगै हिँड्छन् । प्रेम क्रान्तिमा सहभागी हुन्छ भने कहिलेकाहीँ क्रान्तिका बेला नै प्रेम हुने गर्छ । मेरो विवाह पनि यसै यात्राको एक हिस्सा हो ।’
लखनउमा कसरी भयो विवाह ?
रेणु जसलाई भेट्न जालन्धर गएकी थियो उनको नाम अर्जुन पाठक हो । अर्जुन पाठक त्यतिबेला जालन्धर डीएभीमा पढ्थे । त्यतिबेला अर्जुन पनि २१ वर्षका थिए । सन् १९९७ मा भएको भेटको स्मरण गर्दै अर्जुन भन्छन्, ‘हामीबीच खासै कुराकानी भएको थिएन । विवाहको निर्णय पार्टीको थियो र हामी पार्टीको सिद्धान्त र निर्णयमा बाँधिएका थियौँ । साँच्चै भन्नुपर्दा मलाई बिहेको खासै चाहना पनि थिएन ।’
तर फेब्रुअरी ९, १९९७ मा उनीहरुले लखनउको लीला होटेलमा गोप्य रूपमा विवाह गरे । रेणुका अनुसार उनीसँग उनकी कान्छी बहिनी गङ्गाको पनि विवाह भयो । रेणु भन्छिन्, ‘आधा घण्टाभित्र हामी दुई जनाको विवाह भयो । लखनउमा प्रहरी प्रशासनलाई केही पत्तो भएन । यो विवाहमा निकै कम मानिस थिए । दुवै पक्षका आमाबुवा र पार्टीका केही महत्त्वपूर्ण नेता । बाबुराम भट्टराइकी श्रीमती हिसिला यमी र रामबहादुर थापा बादल पनि उपस्थित थिए ।’
अर्जुन पाठक भन्छन्, ‘विवाह हुँदा म बीएससी दोस्रो वर्षमा अध्ययनरत थिएँ । पार्टीलाई लाग्यो कि बच्चालाई सँगै राखेर आन्दोलन हुन सक्दैन । यस्तोमा पार्टी नेताले बच्चालाई सेटल गर्ने निर्णय लिए । विवाहको प्रस्ताव पार्टीबाटै आएको थियो र पार्टीसँग प्रतिबद्ध भएका कारण यो निर्णय मान्नै पर्ने थियो । प्रचण्ड भूमिगत हुँदा यो विवाह भएको थियो । यो विवाह पनि भूमिगत नै थियो । भारतमा प्रहरी प्रशासनबाट पनि बच्नु थियो । यस्तोमा कसैलाई पनि कुनै जानकारी दिइएन । यो जनवादी विवाह थियो र त्यसै गरी गरिएको थियो ।’
समयको
अर्जुन र रेणु दुवै यो कुरामा सहमत छन् कि प्रचण्डले बन्दुक उठाउनु समयको माग थियो । उनीहरूका अनुसार व्यवस्था बहिरो भएको थियो र दोस्रो तरिकाले सुन्न तयार थिएन ।
अर्जुन भन्छन्, ‘राजतन्त्र ढल्दैनथ्यो । बन्दुक उठाउनु बाध्यता थियो । यद्यपि, हामीले जे सोचेका थियौँ, त्यो हुन सकेन । अहिले धेरै कुरा हुन बाँकी छ । अब समय फेरिएको छ । निकै अघि बढिसकेको छ । यहाँ राजतन्त्र फर्किए र पुनः हतियार उठाउनुपर्छ भनेर हामीले सोच्यौँ भने पनि यो त्यति सजिलो छैन । पहिला जुन जनसमर्थन पायौँ, त्यो अब मुस्किल छ र नेपालको जनयुद्ध एक लामो प्रक्रियापछि सुरु भएको थियो । अबको समयमा यसलाई पुनः जस्टिफाइ गर्न समय लाग्नेछ ।’
रेणु चितवन जिल्लामा भरतपुर नगरपालिकाकी मेयर हुन् र अर्जुन पाठक हाल सोसल साइन्समा पिएचडी गरिरहेका छन् । अर्जुन गुल्मीका हुन् । अर्जुनका पिता टेकबहादुर पाठक सन् १९६७ मा भारतीय फौजको गोरखा रेजिमेन्टमा भर्ना भएका थिए । अर्जुन पनि सात वर्षको उमेरमा भारत पुगेका थिए ।
प्रचण्डले किन आफ्ना छोरीहरूलाई ‘जनयुद्ध’ मा जान दिएनन् ?
नेपालको ‘जनयुद्ध’ मा महिलाहरू पनि सहभागी थिए तर प्रचण्डले आफ्ना छोरीहरूको सानै उमेरमा विवाह गराउनु किन राम्रो ठाने ? बुवाका रूपमा प्रचण्डको प्रवृत्ति पनि पितृसत्तात्मक सोचभन्दा फरक थिएन र ? किन आफ्ना छोरीहरूलाई ‘जनयुद्ध’ मा सहभागी हुन दिएनन् ?
नेपाल मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी भन्छिन्, ‘प्रचण्ड बुवाको रूपमा त्यति क्रान्तिकारी थिएनन् । दक्षिण एसियाका ठुला नेताहरू अरूको जीवनलाई चुनौती दिन मन पराउँछन् तर आफ्ना छोराछोरीको धेरै सुरक्षा गर्छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का धेरै नेताहरूले ‘जनयुद्ध’ को समयमा आफ्ना सन्तानलाई भारतमा राखेका थिए ।’
एक बुबाको रूपमा, प्रचण्ड पनि ती बुबामध्ये एक थिए जसले आफ्ना छोरीहरूको स्वतन्त्रताको अगाडि सुरक्षा राख्छन् । प्रचण्ड ब्राह्मण हुन् र तीन वटै छोरीको विवाह ब्राह्मण केटासँग मात्र भएको छ । यो सम्भव मात्रै हुनसक्ने सम्भावना त छ तर कहिलेकाहीँ संयोगमा पनि रूढिवादी टुट्छन् । तपाईं क्रान्तिको आडमा कसैलाई विवाहका लागि बाध्य पार्न सक्नुहुन्नँ । तपाईंको आफ्नै छोरीलाई पनि सक्नुहुन्नँ ।’
मोहना अन्सारीले नेपालको कम्युनिस्ट राजनीतिमा बलियो महिला नेता नभएको बताइन् । उनी भन्छिन्, ‘कम्युनिस्ट पार्टीमा ब्राह्मणहरूको वर्चस्व छ । कम्युनिस्ट पार्टीको मूलधारको राजनीतिमा दलित वा जनजाति वर्गका कोही पनि किन छैनन् ?’
‘कम्युनिस्टहरूबाट प्रधानमन्त्री बनेका सबै ब्राह्मण नै छन् । चाहे प्रचण्ड होस् वा बाबुराम भट्टराई । वा माधवकुमार नेपाल, झलनाथ खनाल वा केपी शर्मा ओली । जनयुद्धका बेला यसमा संलग्न पुरुषले महिलासँग जबरजस्ती विवाह गराए र फलस्वरूप जनयुद्ध समाप्त भएपछि विवाह टुट्न थाल्यो ।’
प्रचण्डका ज्वाईं अर्जुन पाठक
रेणु दाहाल पनि कम्युनिस्ट पार्टीमा महिला, दलित, पिछडिएका जाति र अल्पसङ्ख्यकको सहभागिता शीर्ष नेतृत्वमा बढाउनुपर्ने धारणा राख्छिन् । कम्युनिस्ट पार्टीहरूमा ब्राह्मणहरूको वर्चस्व रहेको कुरा रेणुले स्वीकार गर्छिन् । रेणुले आफ्नो विवाहको सम्बन्धमा पार्टीको निर्णयको बचाउ गर्छिन् । उनको बुबासँग अर्को कुनै विकल्प नभएको उनी बताउँछिन् ।
रेणु भन्छिन्, ‘विवाह मलाई जनयुद्धबाट अलग गर्नको लागि गरिएको थिएन । बिहेपछि म भारतमा पनि बसेँ, त्यसैले यहाँका मानिसहरूलाई एकताबद्ध गरेर नेपालमा लडाइँलाई बलियो बनाउन सङ्गठनात्मक काम गरिरहेँ । हरेक लडाइलाई निष्कर्षमा पुर्याउन काँधमा बन्दुक बोकेर मात्रै हुँदैन । संस्थामा अन्य काम पनि हुन्छन् ।’
रेणु मेयर रहेकी चितवनकी लेखिका सरिता तिवारीले नेपालको राजनीतिमा प्रचण्डले सङ्घर्ष गरे पनि छोरीप्रतिको दृष्टिकोण खासै क्रान्तिकारी नरहेको बताउँछिन् । सरिता तिवारी भन्छिन्, ‘जनयुद्धमा प्रचण्डकी बुहारी बिना मगरको भूमिका रहेको छ । उनी पनि राजनीतिक बन्दी थिइन् । जहाँसम्म रेणुको सवाल छ, उनी प्रचण्डको चुनावी राजनीतिमा नाफा नोक्सानको रेखाबाट पछि हटेकी छैनन् ।’
भारतीयको समर्थन
राजतन्त्रको अन्त्यपछि सन् २००८ मा प्रचण्ड नेपालको प्रधानमन्त्री बने । तर एक वर्षभित्रै तत्कालीन प्रधानसेनापति रुक्माङगद कटवालसँग विवाद भएपछि उनले राजीनामा दिए । रेणु दाहालले यो बुवाले हतारमा गरेको निर्णय बताएकी छिन् ।
रेणु भन्छिन्, ‘एक कर्मचारीसँग विवाद भएकै कारण राजीनामा दिनु हुँदैनथ्यो । यो जनताका लागि प्रेरणादायी निर्णय थियो, किनभने प्रचण्डका लागि कुर्सी कुनै मोहको कारण नभई व्यवस्था परिवर्तन नै उनलाई लक्ष्य थियो भन्ने सन्देश गयो । तर रणनीति र कम्युनिस्ट आन्दोलनको हिसाबले यो हतारमा गरिएको निर्णय थियो ।’
भारतको बारे रेणु भन्छिन्, नेपालमा क्रान्ति ल्याउन भारतीय जनताको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । राजनीतिक तहमा जे भए पनि नेपाल र भारतका आम जनताबीच निकै राम्रो सम्बन्ध छ ।’
प्रचण्डले जीवनमा धेरै सङ्घर्षको सामना गरे । तर २०१७ साल उनको लागि निकै दुखद रह्यो । उनका एक मात्र छोरा प्रकाश दाहालको ३६ वर्षको उमेरमा निधन भयो । प्रचण्डकी जेठी छोरी ज्ञानुको पनि क्यान्सरका कारण निधन भएको थियो । प्रचण्डकी पत्नी सीता पनि धेरै रोगबाट ग्रसित छिन्, उनको उपचार पनि मुम्बईमा भइरहेको छ ।