नेपाल सरकार (वनस्पति विभाग) को आर्थिक विकासको लागि प्राथमिकता प्राप्त ३३ जडीबुटी मध्येको एक पहाडी जडीबुटी हो, टिमुर। टिमुर रुटेसी वानस्पतिक परिवारमा पर्ने ३–५ मिटर अग्लो, काँडेदार, सुगन्धित, सानो रुख वा झाडी वर्गको पतझड वनस्पति हो। यो हिमालय क्षेत्रमा प्राकृतिक अवस्थामा ११००–२५०० मिटरसम्मको उचाइमा पाइन्छ।
नेपालका अलावा टिमुर हिमालय क्षेत्र (कश्मीरदेखि भुटानसम्म), उत्तरी भारत, चीन, ताइवान, फिलिपिन्स लगायत देशमा पाइन्छ। नेपालमा सामुद्रिक सतहबाट ११०० देखि २२०० मिटरसम्म जंगली अवस्थामा पाइने टिमुरको खेती भने आठ–नौ सयदेखि झन्डै २५०० मिटरसम्म भइरहेको छ।
टिमुरको जिल्ला सल्यान बाहेक टिमुरको खेती हुने मुख्य जिल्लाहरूमा पूर्व-पश्चिम रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, रोल्पा, म्याग्दी, गुल्मी, बाग्लुङ, पाल्पा, स्याङ्जा, पर्वत आदि पर्दछन्।
यसको काण्ड र पातको फेदमा तिखा तथा थेप्चा काँडाहरू हुन्छन्। काँडा भएकै कारण बाँदर आतंक भएका ठाउँमा पनि अन्य बालीको राम्रो विकल्प हुनसक्छ, टिमुर। पात पलाउने हरेक आँख्लाबाट फूलको छुट्टै हाँगा निस्किएको हुन्छ।
फूलहरू हरिया र केही पहेंला, स–साना हुन्छन्। फल ४–५ मि.मि. व्यासको, गोलो काँचोमा रातो र पाकेपछि कालो रङको हुन्छ। यसको फूल जेठ–असारमा फुल्दछ, फल साउन–भदौतिर लाग्दछ र असोज–कात्तिकतिर पाक्दछ।
टिमुरको बहुउपयोगिता
यसको मुख्य रूपमा प्रयोग हुने भाग फल हो। नेपालमा टिमुरको चटनी निकै रुचाइन्छ। चीनमा यसलाई हुवा चिआवो भनिन्छ र त्यहाँको पपुलर खानाको परिकार थुक्पा, हटपट लगायतमा पनि टिमुरको प्रशस्त प्रयोग गरिन्छ। भारतमा ल्वाङको उत्पादन कम भएमा टुथ पेस्टमा टिमुरलाई सप्लिमेन्टको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ।
यसमा लिनालुलको मात्रा प्रशस्त भएकाले घाउ चोटपटक, दुखाइ, सुन्निएको, बाउडिने र एलर्जीको उपचारमा प्रभावकारी हुन्छ। यसको फल वायुनाशक, दाँतको दु:खाइ, पेट दुखेको, रुघाखोकी, पिसाब सम्बन्धी समस्यामा पनि उपयोगी हुन्छ। पहाडतिर चिसो सोस्छ भनेर चियामा यसको प्रयोग गरिन्छ।
हिमालतिर जाँदा लेक लाग्छ भनेर तातो झोल खान टिमुर बोकेर जाने प्रचलन पनि छ। जंगल वा बारीमा भेटिएको काँचो टिमुर भने खानुहुँदैन। त्यसमा भएको उडेर जाने तेलले गर्दा टिमुर लाग्छ। कतै झुक्किएर खाइयो भने माटो, सुन्तला वा चुत्राका कलिला मुन्टा चपाउनुपर्छ। टिमुर लागेको बेलामा पानी भने खान हुँदैन।
बिरुवा उत्पादन खेती तथा बिरुवा रोपण
टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ- बीउ र डाँठको कटिङबाट। सजिलो उपाय भनेको बीउ नै हो। डाँठमा काँडा हुने हुँदा कटिङ झन्झटिलो हुन्छ र सफलता प्रतिशत पनि धेरै छैन।
बीउबाट भने २० देखि ७० प्रतिशतसम्म नतिजा पाइएको छ। कलिलैमा टिपेको बीउ भयो भने वा बीउ रोपण विधि मिलेन भने निकै कम मात्रै उम्रिने गर्छ।
वनस्पति विभागले आफ्नो संगठन विस्तार गरेर सात वटा जिल्लामा पुर्याएर कार्यालय स्थापना गरी खेती प्रविधि सम्बन्धी प्राविधिक ज्ञान दिन थालेको छ।
यसपछि विशेषगरी सल्यान र आसपासका जिल्लामा जङ्गली अवस्थाबाट संकलन गरेर बेच्ने गरिएको टिमुरको व्यावसायिक खेती सुरु भएको पाइन्छ र हाल सल्यान जिल्लाबाट मात्रै करोडौंको टिमुर तथा कतिपय अवस्थामा प्रशोधित तेल विदेश निकासी हुने गरेको छ।
यसको मुख्य रूपमा प्रयोग हुने भाग फल हो। नेपालमा टिमुरको चटनी निकै रुचाइन्छ। चीनमा यसलाई हुवा चिआवो भनिन्छ र त्यहाँको पपुलर खानाको परिकार थुक्पा, हटपट लगायतमा पनि टिमुरको प्रशस्त प्रयोग गरिन्छ। भारतमा ल्वाङको उत्पादन कम भएमा टुथ पेस्टमा टिमुरलाई सप्लिमेन्टको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ।
बिरुवा उत्पादन तथा खेती प्रविधि, हावापानी र माटो, संकलन तथा भण्डारण विधिका लागि वनस्पति विभाग थापाथली, वनस्पति विभागका सल्यान (टिमुर विशेष अनुसन्धान हुने भएकोले) लगायतका अन्य अनुसन्धान केन्द्रहरू तथा जिल्लास्थित विभिन्न वन कार्यालयहरूमा पनि सम्पर्क राख्न सकिन्छ।
बजार र सम्भावना
टिमुरको बजार राम्रो छ। हाल यसको बजार मूल्य प्रति केजीको ५०० देखि ८०० सम्म पर्दछ। ग्रेडिङ गरेको टिमुर १००० देखि १५०० प्रति केजीसम्ममा पनि बिक्री हुन्छ। अर्गानिक प्रमाणित गर्न सके तीन हजारदेखि ३५ सय प्रति केजीसम्म व्यापार भएको रेकर्ड छ।
अहिलेकै बजार मूल्यले पनि खेती सुरु गरेको पाँच वर्षपछि प्रति हेक्टर प्रति वर्ष सरदर ४-५ लाख आम्दानी हुन सक्छ। दश वर्षपछि आम्दानी थप हुन सक्छ।
पहिलो पाँच वर्ष कमाइ कम हुने भएकोले सँगै नर्सरी राखेर बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ। लकडाउनको बेला बजार अलि सुस्ताएको थियो तर अहिले फेरि उकालो चढ्दै छ।
एउटा परिपक्व बोटमा सरदर ४ केजी टिमुर फल्दछ। अलि बुढा रुखहरूमा आठ–दश केजीसम्म फल लागेको पनि पाइन्छ। एक जनाले एक दिनमा बढीमा ४ केजीसम्म टिमुर टिप्न सक्दछ।
काँडाले गर्दा टिमुर टिप्दा लाग्ने चर्को लागत, कलिलैमा फल झर्ने तथा बोटमा लाग्ने लाई कीरा तथा पात/फल चुस्ने जातका कीराको असर, फल तथा पातमा फुजारियम जातका ढुसी देखिनु लगायत समस्या अहिले टिमुर खेती गर्ने किसानले व्यहोरिरहेका छन्।
दुवै रोगका लागि जैविक विषादि प्रयोग गर्ने र त्यसले नभेटेमा लाई/चुसेर खाने कीराको लागि इमिड्याक्लोप्रिड नामको औषधि र ढुसीका लागि क्लोरोथालोनिल भएको औषधिले काम गर्छ।
विना मौसम फेरि फूल खेल्ने र फल लाग्ने समस्या पनि किसानले सुनाउँछन्। असिनापानीले फल झार्दा निकै क्षति बेहोर्नुपरेका वास्तविकता फिल्डको क्रममा देखिन्छ।
तसर्थ उत्पादनका आधारमा अनुदानका अलावा वनस्पति विभागले तयार गरेको टिमुरको बाली बीमा कार्यक्रमलाई यथाशक्य चाँडो व्यवहारमा लागू गर्नु आम कृषकको हितमा देखिन्छ।
पूर्वदेखि पश्चिम नेपालसम्मै खेती हुने, धेरै स्याहार नचाहिने र बाँझा बारी, जंगल छेउका जमिनमा एक हजारदेखि पच्चीस सय मिटरसम्म पनि टिमुर खेती गर्न सकिन्छ। बाँझो बारी हुनेले टिमुर लगाएर एक–दुई वर्षको सामान्य रेखदेखमा मात्रै पनि लगातार प्रतिफल लिन सक्छन्।
डा. मित्रलाल पाठक