१२ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शुक्रबार नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेका छन् ।
विश्व बैंकका उच्च अधिकारीसहितको टोली लिएर मन्त्री ज्वाला नागढुङ्गा सुरुङमार्गको अनुगमनमा पुगेका हुन् । अनुगमनका क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका थिए ।
आयोजनाका अनुसार ३ जेठसम्म कुल आयोजनामा ५३.४२ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ भने आयोजनाको कुल बजेटमध्ये ५८.३२ प्रतिशत रकम खर्च भइसकेको छ ।
अहिलेसम्म मूल सुरुङमार्ग र त्यसका सहायक सुरुङमार्ग खण्ड खन्ने काम ८२.२० प्रतिशत सकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार मुख्य सुरुङमार्गको २ हजार ६८८ मिटर मुख्य सुरुङमार्गमध्ये २ हजार २.६० मिटर सुरुङ खनिएको छ । अकस्मिक रुपमा उद्धार गर्न बनाइने इभ्याकुएसन सुरुङको २ हजार ५५७ मिटर सुरुङमध्ये २ हजार ३०५.८० मिटर सुरुङ खनिएको छ ।
वर्किङ अडिटको पुरै १२६ मिटरको काम सकिएको छ । वर्किङ पासेज १२८ मिटरमध्ये ८६.२५ मिटर मात्रै निर्माण भएको छ । आयोजनाले मुख्य सुरुङ्गमा ९६५.७० मिटर कंक्रिट लाइनिङ गरेको छ । यो कुल सुरुङको ३५.९० प्रतिशत मात्रै हो ।
३ वटा अन्डरपासको निर्माण सकिएको छ, ४ वटा बक्स कल्भर्ट बनेको छ । एउटा ओभरपास र ३ वटा पुल पनि तयार भइसकेका छन् । फ्लाइओभर निर्माणका लागि जग राख्ने काम भइरहेको छ भने मुआब्जा वितरणको काम ९५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।