मकवानपुर । बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ कर्णाली जस्तै विकट रहेकाले सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताएका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद ठकुरीले सो क्षेत्रका नागरिकहरू विकासको अनुभूत गर्नबाट वञ्चित रहेको बताए ।
विकासमा पछाडि परेको सो क्षेत्रहरूलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ । काठमाडौँ विकसित जिल्ला भएपनि सो निर्वाचन क्षेत्र सडक, खानेपानी, यातायात सुविधाको अवस्था अत्यन्त कमजोर रहेको उनले बताए ।
सांसद ठकुरीले प्रदेशका कुनैपनि क्षेत्रमा एक करोड रुपैयाँभन्दा कम लागतमा विकास निर्माणका काम हुनसक्ने अवस्था नरहेका कारण त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । एक वडामा एक करोड रुपैयाँका दरले बजेट पर्नुपर्ने उनको भनाई छ ।
सांसद ठकुरीले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण वन क्षेत्रको पर्खाल सारेर सडक चौडा गर्न नसक्दा बागमती करिडोर सडक स्तारोन्नतीमा समस्या भइरहेको बताए । उनले सो विषयमा पनि सरकारले गम्भिर रुपमा लिएर काम गर्नुपर्ने बताए । रत्नपार्कबाट सुन्दरीजलसम्म साझा बस सेवा पु¥याउन पहल गर्नपनि उनले आग्रह गरे ।
सांसद ठकुरीले युवा लक्षित कार्यक्रम सरकारले बजेटमा समावेश गरेर रोजगारी र उद्यमशीलताको अवसरहरू सृजना गर्नुपर्ने बताए ।