आइतबार, मंसिर २ गते २०८१

शरणार्थी प्रकरणले लियो नयाँ मोड ,आईजीपी कुँवरको पद धरापमा

शरणार्थी प्रकरणले लियो नयाँ मोड ,आईजीपी कुँवरको पद धरापमा

अखबार दैनिक
बुधबार, जेठ १० २०८०
  • शरणार्थी प्रकरणले लियो नयाँ मोड ,आईजीपी कुँवरको पद धरापमा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नयाँ मोड लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

    images

    सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरको बेला आरोपीहरुले  एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राई, प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर लगायतका उच्च अधिकारीहरुको नाम पोलेका छन्।

    आईजीपी कुँवरको भूमिका पनि शंकास्पद देखिएको तथ्यहरु बाहिर आएका छन् ।  गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीलाई पक्राउ नगरि कुँवरले सम्पर्क र भेटघाट बढाएको अनुसन्धानका क्रममा खुलेपछि कुँवर समस्यामा परेका छन्।

    कुँवरलाई गृहमन्त्रालयमा तानेर अनुसन्धान गर्नुपर्ने भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माओवादीकै उच्च तहबाट दबाब दिन थालिएको स्रोतले वताएको छ। जसका कारण आईजीपी कुँवरको पद धरापमा परेको छ।

    प्रहरी अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर कुराकानीको विवरण नै सार्वजनिक भएको छ ।  जसमा पाण्डेले आईजीपी कुँवरसँग गिरोहलाई सम्पर्क गराएको देखिन्छ।

    कुँवर अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा  यो प्रकरणबारे उजुरी परेपनि उनले छानविनमा चासो नदेखाएको आरोप लागेको छ। कुँवरले टोपबहादुर रायामाझीलाई   बुटवलबाट भगाउन  भूमिका खेलेको आरोप लागेको थियो । तर, यो प्रकरणमा कुँवरले आफ्नो सँलग्नता नभएको जिकिर गरेका छन्।

    प्रहरीले  यो प्रकरणमा ५८औं दिन आफ्नो अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा थप जोडिएर आएकाहरुलाई पनि अनुसन्धान गरिनुपर्ने दबाव बढेको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको छ भने २७ करोड ८४ लाखबढी विगो दाबी गरिएको छ ।

    पक्राउ पर्नेहरुमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी रहेका छन् ।

    पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना  प्रहरीको फरार सूचीमा छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार