शनिबार, मंसिर १ गते २०८१

काठमाडौं आउँदाआउँदै खानीखोलाबाट फर्किएका थिए टोपबहादुर

काठमाडौं आउँदाआउँदै खानीखोलाबाट फर्किएका थिए टोपबहादुर

अखबार दैनिक
सोमबार, जेठ १ २०८०
  • काठमाडौं आउँदाआउँदै खानीखोलाबाट फर्किएका थिए टोपबहादुर

    १ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख तेस्रो साता नै काठमाडौं आउँदाआउँदै बीच बाटोबाटै फर्किएको खुलेको छ । त्यसपछि ११ दिनसम्म सम्पर्कविहीन भएका उनलाई प्रहरीले आइतबार बेलुकी बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ ।

    images

    टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका बेला उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएका थिए । त्यसपछि भैरहवा विमानस्थल हुँदै काठमाडौं जाने भनेर उनी बुटवलसम्म आएका थिए ।

    त्यहाँबाट प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग उनले टेलिफोन गरी आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीबारे जिज्ञासा राख्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको जिकीर गरेका थिए ।

    कुँवरले भने काठमाडौं प्रहरीमै आएर आफ्ना कुरा राख्न भनेका थिए । त्यसपछि काठमाडौं आउँछु भनेका उनी भैरहवा क्षेत्रबाटै सम्पर्कविहीन भएका थिए ।

    तर टोपबहादुर सडकमार्ग हुँदै काठमाडौं आउँदै गरेको सूचना पाएर प्रहरीले निगरानी बढाएको थियो। काठमाडौं नपुग्दै प्रहरीले आफूलाई पक्राउ गर्ने सूचना पाएपछि उनी धादिङबाटै फर्किएका थिए। त्यसपछि चालक र एक जना सहयोगीमात्र टोपबहादुरको गाडीमा काठमाडौंतर्फ आएका थिए ।

    ‘टोपबहादुरको गाडीलाई खानी खोला प्रहरीले रोकेको थियो । गाडीमा चालक र एक जना सहयोगीमात्र थिए । माननीय ज्यू खोइ त भनेर सोध्दा उहाँ बुटवलतिरै हुनुहुन्छ भनेर प्रहरीलाई भनिएको थियो ।’

    काठमाडौं प्रहरी परिसरमा आफैं आउँछु र अनुसन्धानमा सघाउँछु भनेका टोपबहादुर फरार भएपछि उनलाई पक्रन प्रहरीमाथि दबाव बढेको थियो ।

    केन्द्रीय समितिको बैठकमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीबाट दुर्व्यवहार हुने आशंका टोपबहादुरले व्यक्त गरेर सम्पर्कविहीन भएको जानकारी गराएका थिए । तर टोपबहादुर प्रहरीमा पुगेर अनुसन्धानमा सघाउनुपर्ने ओलीले बताएका थिए । केन्द्रीय समितिको बैठक अघि बसेको सचिवालय बैठकले टोपबहादुरलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

    प्रहरीमा आत्मसमर्पण गर्न दबाव बढ्दै गएको बेला विशेष व्युरोको टोलीले टोपबहादुरलाई आइतबार बेलुका काठमाडौंको बुढानीलकण्ठस्थित एक व्यक्तिको घरबाट नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि उनलाई काठमाडौं प्रहरी परिसरमा ल्याउँदा प्रहरीले अधिकृतहरुले ठट्यौली शैलीमा ‘माननीय ज्यू यसरी हामीलाई दुःख नदिनुस् न’ भनेको स्रोतले बतायो । टोपबहादुरले पनि छोरा पक्राउ परेपछि आफूलाई नमजा लागेको बताएका थिए ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले टोपबहादुरका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो ।

    टोपबहादुरलाई प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ । अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार