सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको छ । परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु पर्यो भने गाडी रिजर्भका लागि दुबिधामा परी अलमल्ल हुन्छन्, मानिसहरूले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले बताए ।
सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरूलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरूलाई पनि सेवा दिन्छ । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरू पोखरा, चितवन, बुटवल, धनगढी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ । यात्राको क्रममा हुने जोखिम न्यूनीकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
ग्राहकले न्यूनतम चार घण्टादेखि १ महिना वा त्योभन्दा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् । सजिलो रेन्टल मार्फत सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्छन् । सजिलो रेन्टलका ग्राहकहरूले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शिता पनि प्रवर्द्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए ।
पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ । कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउँछन् । यो अवधारणा नेपालमा कोभिड र नाकाबन्दीको समयमा चलेको थियो ।