शनिबार, मंसिर १ गते २०८१

कर्मचारीकै मिलेमतोमा दुई करोडको काठ गायव

कर्मचारीकै मिलेमतोमा दुई करोडको काठ गायव

अखबार दैनिक
मंगलबार, वैशाख १९ २०८०
  • कर्मचारीकै मिलेमतोमा दुई करोडको काठ गायव

    मधुवन सेक्टरमा प्रमुख भएर आएका सहायक वन अधिकृत अमरदेव प्रसाद यादवले १ हजार ४ सय २३ थानमा ४ सय ९७ थान गोलिया घटाएर ९ सय २६ थान काठको गोलिया ४ हजार ६ सय १० दशमलव १६ क्युबिक फिटको मात्र लगत वन कार्यालयमा देखाएर अरु काठ हिनामिना गरेको प्रमाणसहित शशीकान्त तिवारीले अख्तियार, मन्त्रालयलगायतका स्थानमा उजुरी दिएका थिए

    images

    सहजनाथ साझेदारी वन व्यवस्थापन समितिका कर्मचारीको मिलेमतोमा दुई करोड रुपैयाँ बराबरको काठ गायब भएको रहस्य खुलेको छ । मधुवन सेक्टरका तत्कालीन निमित्त प्रमुख शशीकान्त तिवारीले काठ हिनामिना भएको तथा लागत खर्च उपलब्ध गराई पाउँ भनी दुई महिनाअघि उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेश जनकपुरमा निवेदन दिएपछि सोको रहस्य खुलेको हो ।

    बाराका तत्कालीन वन अधिकृत (डिएफओ) भैरवप्रसाद घिमिरे, सहायक वन अधिकृत अमरदेव प्रसाद यादव र रेन्जर अब्दुल करिम अन्सारीलगायतले मधुवन सेक्टरको ४ सय ९७ थान गोलिया काठको २ हजार ५ सय ५ दशमलव ९४ क्युबिक काठ हिनामिना गरेको भन्दै विभागले हालसम्म उनीहरुलाई कुनै कारबाही नगरी उल्टै आफ्नैविरुद्ध षड्यन्त्र गर्दै विभिन्न दुःख दिएको आरोप तत्कालीन निमित्त प्रमुख तिवारीले लगाए । यादव सर्लाही वनका प्रमुख छन् भने अन्य सबैले अवकाश पाइसकेका छन् ।

    विगत सात वर्षदेखि न्यायका लागि मन्त्रालयलगायत विभिन्न निकायमा उजुरी निवेदनसहित हारगुहार गर्दा पनि कुनै सुनुवाई नभएको आरोप लगाउँदै मन्त्रालय तथा कर्मचारीबाटै भएको जालझेलका कारण हालसम्म आफ्नो पेन्सनसमेत रोकिएको तिवारीले बताए । उनले कर्मचारीबाट भएको हिनामिना रोक्दा सात वर्षदेखि सरकारबाट पेन्सन रोकिएको उपहार पाएको बताए ।

    २०७३ असोज ३० गते जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत जीवन कुमार ठाकुरले सहजनाथ साझेदारी वन अन्तर्गतको मधुवन सेक्टर वन क्षेत्रको काठ रिनम्बरिङ गर्न लिखित आदेश पाएपछि १ हजार ४ सय २३ थान गोलिया काठको ७ हजार १ सय १६ दशमलव ८० क्युबिक फिट काठ रहेको लगत वन कार्यालय बारामा बुझाएको तत्कालीन निमित्त प्रमुख तिवारीले जानकारी दिए । बजारमा अहिले एक क्युबिक काठको मूल्य करिब ५ हजार रुपैयाँ छ ।

    आदेश पाएपछि कार्यालय कम्पाउन्ड बाहिर तथा वरिपरी छरिएर रहेको काठ संकलन गर्दै नापी नम्बरिङ गरी लगत तयार पारी सम्बन्धित बिल, जिम्मेवारी भर्पाई तथा तत्कालीन अध्यक्ष भुवनेश्वर धामीको रोहबरमा साल, असना, कर्मा, जामुन, सिसौ, टिकलगायतका गोलियाको लगतसहितको निवेदन र लागत खर्च १ लाख ६५ हजार ४ सय ६५ रुपैयाँको भुक्तानीका लागि २०७० असार १६ गते जिल्ला वन कार्यालय सिमरामा दर्ता गरिएको भए पनि हालसम्म एक रुपैयाँ पनि नपाइएकाले पुनः रकम उपलब्ध गराइ दिन तिवारीले मधेश प्रदेशका वनमन्त्रीसमक्ष निवेदन दिएपछि यस्तो रहस्य खुलेको हो ।

    पछि मधुवन सेक्टरमा प्रमुख भएर आएका सहायक वन अधिकृत अमरदेव प्रसाद यादवले १ हजार ४ सय २३ थानमा ४ सय ९७ थान गोलिया घटाएर ९ सय २६ थान काठको गोलिया ४ हजार ६ सय १० दशमलव १६ क्युबिक फिटको मात्र लगत वन कार्यालयमा देखाएर अरु काठ हिनामिना गरेको प्रमाणसहित तिवारीले अख्तियार, मन्त्रालयलगायतका स्थानमा उजुरी दिएका थिए ।

    लगत कम देखाएर झण्डै दुई करोड रुपैयाँको काठ हिनामिना गरी बाराकै जितपुरस्थित नेहाल सःमिल एन्ड फर्निचर उद्योगमा २०७४ असार ४ गते डिएफओ भैरवप्रसाद घिमिरेको मिलेमतोमा बिक्री वितरणका लागि ढुवानी आदेश दिइएको प्रमाणसहित अख्तियारमा उजुरी दर्ता गराउँदासमेत कुनै चासो नभएको तिवारीले आरोप लगाए ।

    ‘कारबाहीका लागि अख्तियारमा समेत उजुरी दिइयो, तर कसैको सुनुवाई गरेन,’ तिवारीले भने, ‘यसमा वन विभाग, मन्त्रालयका अधिकारी र अख्तियारका कर्मचारीको समेत संलग्नता भएको भेटिएको छ ।’ छानबिनका लागि बारा गएको अख्तियारको टोली आरोपितकै मेजमानी खाएर फर्किएको उनको आरोप छ ।

    तत्कालीन सहायक वन अधिकृत यादव र रेन्जर अन्सारीले काठको परिमाण घटाएर आर्थिक हिनामिना गरेकाले छानबिन गर्न अख्तियारमा उजुरी परेको थियो । सहजनाथ साझेदारी वन व्यवस्थापन समितिका काठ कर्मचारीले सिधै जीतपुर सिमराको नेहाल सःमिल एन्ड फर्निचर उद्योगमा पठाएका थिए । डिएफओ घिमिरे र सहायक वन अधिकृत यादवकै मिलेमतोमा काठ गायव पारिएको भए पनि उनीहरुबीचमा आफू पिल्सिएको तिवारीले बताए ।

    कमिसन खाने र यादव बढुवा भई हाल सर्लाही वन कार्यालयमा कार्यरत रहे पनि आफू अन्यायमा परेको बताउँदै तिवारीले उबेला काठ संकलन गर्दा लागेको लागत खर्च एक लाख ६५ हजार रुपैयाँ हालसम्म नपाएकाले रकम भुक्तानीका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेशमा निवेदन दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार