शुक्रबार, कात्तिक ३० गते २०८१

तातोपानीबाट वैशाख १८ देखि आयात-निर्यात खुला

तातोपानीबाट वैशाख १८ देखि आयात-निर्यात खुला

अखबार दैनिक
बुधबार, वैशाख ६ २०८०
  • तातोपानीबाट वैशाख १८ देखि आयात-निर्यात खुला

    कोभिड संक्रमण बढेसँगै बन्द भएका चीनतर्फका व्यापारिक नाका एकपछि अर्काे खुल्ने क्रम सुरु भएको छ । गत चैत १८ देखि केरुङतर्फको नाका पूर्ण रुपमा सञ्चालनमा आएकोमा यही वैशाख १८ देखि तातोपानी नाका पनि खुल्ने भएको हो ।

    images

    तातोपानी नाका खुलाउने तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच मंगलबार द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालको तर्फबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारी सहभागी थिए ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमा व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक भएको जानकारी दिए । बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने, सीमा सुरक्षा मजबुत बनाउने तथा कोरोना संक्रमण एवं सुरक्षाको विषयलाई प्राथमिकता दिने सहमति भएको छ ।

    दुवै देशबीच कोभिड संक्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सीमा सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकताअनुसार संयुक्त तालिम एवं गस्ती गर्ने, थप चेकप्वाइन्ट राख्ने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदानप्रदान गर्नेलगायत विषयमा छलफल भएको थियो ।

    कोभिड महामारी सुरु भएसँगै चीनले नेपालतर्फका सबै नाका बन्द गरेको थियो । गत वर्ष जेठमा चीनबाट नेपालतर्फ एकतर्फी रुपमा मात्र सामान ल्याउने गरी केरुङ नाका सञ्चालनमा ल्याइए पनि आंशिक क्षमतामा मात्र सञ्चालनमा आएको थियो । सरकारका प्रतिनिधि तथा राजनीतिक दलका नेताहरुले दुईतर्फी रुपमा नाका खुलाउन पहल गर्दै आएका थिए । नेपाली व्यवसायीहरुले भने चीनले नेपाललाई अघोषित नाकाबन्दी नै लगाएको आरोप लगाउँदै आएका थिए । चीनसँग जोडिएका तातोपानी र रसुवागढी नाका द्विपक्षीय सहमति भन्दा पनि चीनकै एकपक्षीय निर्णयमा खुल्ने–बन्द हुने गर्दै आएका छन् ।

    ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले केरुङ नाका सञ्चालनको एक महिनापछि सिन्धुपाल्चोकको तातोपानी नाका पनि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको जनाएको थियो । चीनसँगका यी दुई नाका पूर्ण रूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको छ । नेपाली पक्षले भारतको कोलकातासम्म जलमार्गबाट र त्यसपछि स्थलमार्ग हुँदै सामान ल्याउने गरेको छ । यसका कारण समय र मूल्य बढेर व्यवसायी तथा उपभोक्ता मारमा पर्दै आएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चीनतर्फका दुवै नाका सञ्चालनमा आएसँगै नेपाल–चीन व्यापार पुरानै लयमा फर्कने अपेक्षा लिइएको प्रतिक्रिया दिए । “केरुङ नाका खुलेको र तातोपानी पनि चाँडै पूर्ण क्षमतामा सञ्चालनमा आउने सहमतिले हामी उत्साहित छौं,” अध्यक्ष मल्लले भने । नेपाल–चीन व्यापार घाटाको दायरा भने बढ्दो छ । त्यसका लागि नेपालतर्फबाट निर्यात बढाउनुपर्ने जरुरी छ ।

    चीनले नेपाललाई ८ हजारभन्दा बढी वस्तुको निकासीमा भन्सार छुट सुविधा दिँदै आए पनि त्यसको सदुपयोग हुन सकेको छैन । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक चीनमा नेपालले खाद्यान्नदेखि घरेलु उत्पादनहरु निर्यात गर्दै आएको छ । नेपालबाट चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैंचालगायत वस्तु निर्यात हुँदै आएको छ ।

    भएको के थियो ?

    २०७२ वैशाख १२ मा आएको भूकम्पको अर्को दिन चीनले तातोपानी नाका बन्द गरेर खासा बजारका सबै बासिन्दालाई अन्यत्र लगेको थियो । त्यसपछि चीनले खासाको भन्सार सुचारु गर्ने भने पनि विगतको जस्तै नाका कहिल्यै खोलेन । करिब दुई वर्षअघि यो नाकाबाट कन्टेनरमात्र ओहोरदोहोर गर्ने व्यवस्था मिलाइएको थियो । पर्यटक वा सर्वसाधारण नागरिक कसैलाई पनि यो नाका खुला गरिएको थिएन ।

    चीनले भूकम्पले ध्वस्त बनाएको काठमाडौं–तातोपानी सडक पुनर्निर्माणमा बजेटरी सहयोग पनि दियो । तैपनि नाका खोल्ने विषयमा चीन सधैं अनिच्छुक देखिएको थियो । चीन नाका खोल्न अनिच्छुक हुनुको प्रमुख कारण काठमाडौंमा भइरहने फ्रि तिब्बत गतिविधिमा खासास्थित चिनियाँहरुको संलग्नता प्रमुख थियो । खासाका चिनियाँ व्यापारीहरुले लामो समयदेखि फ्रि तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएको बुझाइ चीन सरकारको छ । यही कारण चीनले पुराना व्यापारीहरुलाई खासामा पुनस्र्थापित गर्न चाहेको थिएन । त्यसैले तत्कालै नाका नखोलिएको हो ।

    चीनले सुरुमा त्यहाँका व्यापारीहरुलाई सस्तो दरमा ऋण दिएर व्यापार गर्न सहयोग गरेको थियो । नेपालसँगको व्यापारबाट मनग्य पैसा कमाएपछि यहाँका व्यापारीहरुको संलग्नता फ्रि तिब्बत गतिविधिमा देखिएकाले चीन सरकारको टाउको दुखाइ भएको थियो ।

    २०२७ सालमा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महत्वको व्यापारिक मार्ग हो । यो नाकाबाट मात्र सरकारले विगतमा वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो । यही नाका भएर नेपाली र भारतीय तिर्थालुहरु तिब्बतको मानसरोवर जाने गर्थे । पछिल्ला वर्षहरुमा एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत गएको व्यापारीहरु बताउँछन् । तातोपानी नाकामा ४५ वटा पर्यटकीयसहित ३ सय ५० भन्दा धेरै होटल खोलिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार