तीन अंकको उमेर अर्थात १०० वर्षमा आरामको जीवन व्यतित गर्न आशावादी हुन जरूरी छ। यो उमेरका व्यक्तिले विगतको खराब समयको सम्झना गरेर बाँच्न नहुने, डायरीमा आफ्नो अनुभव लेख्ने कामलाई निरन्तरता दिनुपर्ने विज्ञहरूको भनाई छ।
सयभन्दा बढी उमेर बाँच्ने व्यक्तिहरूले पनि सामान्य जीवनयापन गर्नु जस्तो उत्तम उपाय अरू नभएको बताएका छन्। बेलायती सेनाका पूर्वकर्नेल १०२ वर्षका एडवर्ड टम्सले भनेका छन्, ‘खुसी हुने, प्रस्ट सोच राख्ने र आफूमाथि नै ब्यङ्ग कस्न सक्ने क्षमताले मानिसलाई दीर्घजीवन दिन्छ।’
उनी जस्तो अवस्थामा पनि निरास नहुने र आनन्द लिनसक्नु ठूलो खुबी रहेको बताउँछन्। भन्छन्, ‘कहिले काहिँ एकान्तमा बस्नु पनि राम्रो कुरा हो।’
१०६ वर्षका अभिनेता अमेलिया मेन्डेलको अनुभव छ, आफ्नो जीवनलाई रोमाञ्चक बनाउनु भनेको बुढे्सकालको अनुभव नहुनु हो। उनीसँग कुरा गर्नका लागि थुप्रै मिठो अनुभव छ।
१०१ वर्षीय फर्नान्डो केविया भन्छन्, ‘अहिले पनि हरेक दिन अध्ययनमा सक्रिय हुन्छु। जब तपाईं पढ्न बस्नुहुन्छ, थुप्रै कुरा बुझ्ने मौका प्राप्त हुन्छ। यसले तपाईंको जिज्ञासालाई मर्न दिँदैन। अगाडि बढ्नु छ भने अल्छी गर्नु हुँदैन।’
बढ्दो उमेरमा धैर्यता नै अचुक अस्त्र भएको विज्ञहरूको बुझाई छ। तनाव नलिनु अर्को महत्वपूर्ण पक्ष हो। १०६ वर्षीय जोन उर्कहार्ट भन्छन्, ‘सक्नुहुन्छ भने विदेश यात्रा गर्नुहोस्। अन्य देश र त्यहाँका मानिस बसोबास गर्ने तरिका सिक्नुहोस्। नयाँ–नयाँ भाषा सिक्नुहोस्।’ उनी जर्मनी र फ्रेञ्च भाषा पनि बोल्छन्। उनले ८० को दसकमा जर्मनी भाषाको ए–लेभल पास गरेका थिए।
कम्पनीको निर्देशक रहेका १०० वर्षीय पिटर ह्वाइटली भन्छन्, ‘आफ्नो दिमागलाई भड्किन नदिनुहोस्। मौकामा हाँस्न नर्बिसिनुहोस्। आँखा खोलेर बस्नुहोस्। आफ्नो वरिपरि के भइरहेको छ, त्यो अनुभव गर्नुहोस्। पैसाको पछाडि नभाग्नुहोस्। सानोतिनो खुसी खोज्ने प्रयास गर्नुहोस्।’