काठमाडौं । नयाँ कार्यसमिति चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान जारी छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा केही समयअघि शुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ ।
महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान भएको हो ।अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिस्पर्धामा छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्ष द्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा रहेका हुन् ।
हालका वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दै छन्। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष महासंघको अध्यक्ष बन्ने प्रावधान रहेको छ । ढकाल ३० चैतदेखि स्वतः अध्यक्ष बन्नेछन् ।