शुक्रबार, कात्तिक ३० गते २०८१

सम्भावना भएको उद्योग गलैंचा

सम्भावना भएको उद्योग गलैंचा

अखबार दैनिक
मंगलबार, चैत २८ २०७९
  • सम्भावना भएको उद्योग गलैंचा

    सम्भावना भएको उद्योग गलैंचासम्भावना भएको उद्योग गलैंचाvvनेपाललाई आयातमुखी हैन निर्यातमुखी अर्थतन्त्रको देश बनाउन योगदान गर्ने उद्योगलाई सरकारले वातावरण दिन सक्नुपर्छ, मैत्रीपूर्ण नीति दिन सक्नुपर्छ।

    images

    प्रतिस्पर्धात्मक बजारमा नेपालले मौलिक वस्तुको उत्पादनबाटै आफूलाई अब्बल सावित गर्न सक्छ भन्ने उदाहरण गलैंचा उद्योग हो। विश्वमै गलैंचा निर्यातमा दोस्रो स्थानमा पुग्ने कीर्तिमान भने अचेल ओरालो लाग्दैछ। निर्यातमुखी उद्योगलाई प्रोत्साहन गर्ने वा देशमा मौलिक उद्योगधन्दा र कलकारखाना खोल्ने अनुकूल नीति तथा वातावरण बनाउन सरकार चुकेको छ। त्यसैको परिणाम कुनै बेला वार्षिक ३५ अर्ब रुपैयाँको निर्यात हुने गलैंचा अचेल ६/७ अर्बमा झरेको छ।

    अझै पनि विश्व बजारमा नेपाली गलैंचाको माग उच्च छ। अमेरिका र युरोपका बजारमा नेपाली गलैंचाले साख गुमाएको छैन। कुनै बेला नेपाली गलैंचा विकसित मुलुकमा हटकेक थियो। तर अन्तर्राष्ट्रिय एक संस्थाले गलैंचा बुन्दा नेपालमा बालश्रम प्रयोग भएको भनी गरेको प्रचारले निकै घाटा पुर्‍यायो। माग घट्यो, निर्यात ठप्पजस्तै भयो। जब कि नेपालका सबै उद्योगले त्यसो गरेका थिएनन्। केहीमा देखिएको खोटको नकारात्मक प्रचारै धेरै भयो। त्यसलाई चिर्न नेपालले सकेन। 

    न्युजिल्यान्डदेखि ऊन ल्याएर नेपालमा गलैंचा बुन्ने गरिएको छ। नेपाल आफैंमा हिमाली भूभाग प्रशस्त भएको मुलुक हो, जहाँ ऊन उत्पादनका लागि आवश्यक पशुपालन कुनै विषम विषय होइन। तर ऊन उत्पादन हुने भेंडा, च्याङ्ग्रापालन नेपाल सरकारको प्राथमिकतामा छैन। किसानलाई आकर्षित गर्ने, व्यावसायिक बनाउने ढंग सरकारले पुर्‍याएको छैन। बाहिरबाट ल्याउने ऊनमा कर बढी भएको व्यवसायी बताउँछन्। निर्यातमा दिने अनुदान लिन पनि झन्झट भएको उनीहरूको गुनासो छ। 

    एक लाख जनाभन्दा धेरैलाई नेपालका झन्डै हजार गलैंचा उद्योगले रोजगारी दिएका छन्। अर्काे कुरा, घरमै बसीबसी पनि गलैंचा बुन्ने र सम्बन्धित उद्योगलाई दिने परम्परा पनि नेपालमा छ। नेपाली हातको सीपबाट बुनिएका गलैंचाले मेसिनका उत्पादनलाई खल्लो सावित गरिरहेकै छन्। यस्तो हुँदाहुँदै पनि सरकारको ध्यान किन पुग्दैन ? गलैंचा उद्योगमा फेरि पुनर्जागरण ल्याउन किन सक्दैन ? 

    किनभने सत्तामा बस्नेहरूमा उद्यमशीलतालाई प्रोत्साहन गर्ने संस्कृति नै छैन। त्यसैको फलस्वरूप नेपालमा उद्यमभन्दा बढी व्यापार फस्टाएको छ। त्यो पनि विदेशी उत्पादनको व्यापार र नेपाल केवल बजार बनिरहेको छ। देशकै अर्थतन्त्रलाई उकास्न, रोजगारी सिर्जना गर्नमात्रै होइन मौलिक उत्पादनबाट नेपालको पहिचान स्थापित गर्न पनि गलैंचा उद्योग प्रभावकारी माध्यम हो। यसमा संवेदनशील तवरले सोचेरमात्रै पुग्दैन सरकारले व्यवहारमै केही गर्नुपर्छ। नेपाललाई आयातमुखी हैन निर्यातमुखी अर्थतन्त्रको देश बनाउन योगदान गर्ने उद्योगलाई सरकारले वातावरण दिन सक्नुपर्छ, मैत्रीपूर्ण नीति दिन सक्नुपर्छ। 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार