काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र अब सुध्रिने अवस्था आएकोले उद्योगी व्यवसायीलाई ढुक्क रहन भनेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यो सरकार गठनको १०० दिनमै त्यसको संकेत देखिएको दाबी गरे। आफू प्रधानमन्त्री भएलगत्तै सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्र बीच घनिभूत छलफल थालेको र अब त्यसले निकास पाउने बेला आएको पनि प्रचण्डको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले लगानीको वातावरण बन्दै गएको, ब्याजदर नियन्त्रण तथा बजारमा देखिएका समस्यामा सरकार गम्भीर रहेको र देशको अर्थतन्त्रलाई बिग्रन नदिन सरकार गम्भीर रहेको पनि बताए । ‘हाम्रो मात्रै नभई बाह्य कारणले पनि अर्थतन्त्रको आन्तरिक अवस्थापनमा केही समस्या परेको हो’ उनले भने–‘अब हामी सहज अवस्थातर्फ जाँदै छौं।’
प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर घटाएर लगानीको मनोबल बढाउन, पुँजीगत खर्च बढाएर बजार चलायमान गराउन र अन्य नीतिगत समाधानका लागि सरकारका सबै निकाय एक ठाउँ भएर काम गरिरहेको पनि बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि अर्थतन्त्रको निराशा लामो समय नरहने बताएका थिए। उनले कोभिड–१९बाट जोगाउन सकेको अर्थतन्त्रलाई आफ्नै कमजोरीले अप्ठ्यारोमा परेको बताए।
अध्यक्ष गोल्छाले अहिलेको समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने भन्दै उद्योग धन्दा र निजी क्षेत्र समस्यामा पर्यो भने सरकार र बैंकलाई समेत अप्ठ्यारो हुने औंल्याए। उनले उद्योगी व्यवसायीले सरकारको बाध्यता बुझेको कारण सरकारले पनि व्यवसायीको मर्का बुझिदिन आग्रह गरे।