काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत उपभोक्ताहरुले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुनेछ ।
६/८ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरु निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ ।