काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली बन्नमा समय लागेको भन्दै सिंगो सदनको ध्यानाकर्षण गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ?’
गत मंसिर ४ गते सम्पन्न आम चुनावबाट चुनिएर आएका प्रतिनिधिसभा सदस्यहरुले पुस ७ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । १० माघमा प्रतिनिधिसभा नियमावली मस्यौदा समिति बनेको थियो । ११ फागुनमा मस्यौदा समितिले नियमावली मस्यौदा समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो । चैत ६ गते प्रतिनिधिसभाको बैठकमा पेश भएको नियमावली मस्यौदा प्रतिवेदन थप अगाडि बढेको छैन ।
लामो समयसम्म प्रतिनिधिसभा नियमावली सदनबाट पास हुन नसकेको भन्दै सांसद डाँगीले प्रश्न गरेकी हुन् । सांसद डाँगीले संसदीय समितिहरु गठन भएकोप्रति समेत सदनको ध्यानाकर्षण गराएकी छन् ।
‘कति दिनभित्र संसदीय समितिहरू बन्नेछन्, र कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो काम कारबाहीमा गतिशील भएर अघि बढ्छ ? यी प्रश्न जनताले मलाई गरिरहन्छन तर म निरूत्तर छु’ उनले भनिन्, ‘त्यसैले यी प्रश्नहरुको जवाफ सभामुखमार्फत सुन्न चाहन्छु ।’