काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन् ।
बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव गुरुङले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए ।
“अहिलेको परिस्थितिअनुसार नीति निर्माण हुनुपर्छ । परिवेश अनुसारका कानुन निर्माण गर्न गर्नुपर्छ,” उनले भने ।
उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको बताए । सञ्चारनीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानुन ल्याएमात्रै सामुदायिक रेडियोहरू व्यवस्थित हुनसक्ने उनको भनाइ छ ।
उपमहासचिव गुरुङले राज्यले सामुदायिक रेडियोको संरक्षणका लागि विधेयक ल्याउँदा रेडियो संरक्षणका लागि आफ्नो पार्टी सदैव अग्रसर रहने प्रतिबद्धता जनाए ।