नेपालको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)को तर्फबाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल नयाँ राष्ट्रपति बनेका हुन् । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
७८ वर्षका पौडेल २००१ साल असोजमा तनहुँको रिस्ती बाहुनपोखरामा जन्मिएका पौडेल राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि राजनीतिमा लागेका थिए । १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका पौडेलले कांग्रेसद्वारा २०१८ मा सञ्चालित सशस्त्र क्रान्तिमा सहभागिता जनाए । २०१९ सालको स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता रहेका पौडेल २०२३ मा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति, २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगका महासचिव, २०२७ मा नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बने । २०४० मा पार्टीको केन्द्रीय प्रचार समिति संयोजक बनेका पौडेल २०४४ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए । २०४८ को निर्वाचन तनहुँ १ बाट विजयी हासिल गरेपछि पौडेलको संसदको यात्रा सुरु भएको थियो । उनी स्थानीय विकासमन्त्री हुँदै कृषिमन्त्री पनि बनेका थिए ।
२०५१ को मध्यावधि चुनावमा तनहुँ—२ बाटै निर्वाचित भएका पौडेल २०५१ पुसदेखि २०५५ चैतसम्म सभामुख बने। २०५६ सालमा तनहुँ—२ बाट तेस्रो पटक निर्वाचित भएका पौडेल २०५७ मा उपप्रधान, गृह तथा सञ्चारमन्त्री, २०५९ मा शान्तिमन्त्री हुँदै २०६२ सालमा कांग्रेस महामन्त्री बनेका थिए । २०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री, २०६४ सालमा कांग्रेस उपसभापति हुँदै २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने ।
२०६७ मा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री बन्न सकेनन् । २०७० मा संविधानसभाको दोस्रो निर्वाचन तनहुँ—२ बाट जितेका उनी २०७२ मा पार्टीको कार्यवाहक सभापति बने । पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदमा पराजित भएका थिए । २०७४ को निर्वाचनमा तनहुँ—१ मा जित हात पार्न नसकेका पौडेलले गत निर्वाचनमा तनहुँ—१ बाटै सांसद बनेका थिए । करिब १३ वर्ष जेल जीवन बिताएका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका छन् । उनले तीन पुस्तक प्रकाशित गरिसकेका छन् ।