दुई वर्षदेखि साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
दिनेशका बुवा गणेशबहादुर कार्कीसहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् । दिनेश ट्राफिक नियम उल्लंघन गरेको कसुरमा दुई वर्षदेखि साउदी अरबको जेलमा छन् । उनी धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ निवासी हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले दिनेशलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल अघि बढाउने आश्वासन प्रधानमन्त्री प्रचण्डले दिएका थिए ।
‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ ।’