आइतबार, मंसिर ९ गते २०८१

गुलियो मधु, दुःख दिने मधुमेह

गुलियो मधु, दुःख दिने मधुमेह

गाउँ–शहर सबै ठाउँमा फैलिएको उच्च रक्तचाप, मधुमेह आदि जीवनशैली र पत्रुखानासँग सम्बन्धित छन् भनेर विज्ञहरूले भनिरहँदा पनि स्वास्थ्य मन्त्रालय रोकथाम गर्न चुइँक्क नबोल्नुको कारण बुझिनसक्नु छ ।

अखबार दैनिक
सोमबार, फागुन ८ २०७९
  • गुलियो मधु, दुःख दिने मधुमेह
     

    पहिले–पहिले मधुमेह ४० वर्ष कटेपछि हुन्थ्यो भन्ने भनाइ थियो । अस्वस्थकर जीवनशैली, पत्रुखाना, अत्यधिक तनाव आदिले गर्दा अहिले त युवावस्थामै मधुमेह (अर्थात् चिनी रोग) हुन्छ । अझ कति जना त आमाको पेटबाटै यो रोग लिएर जन्मिन्छन् । गर्भावस्थामा मधुमेह भयो भने हुने दुःख कति कति !

    images

    ‘मधु’ मह, गुलियो आदि शब्द मात्रैले मुखमा स्वाद दिलाउँछ, खाँदा त झन् मीठो । पञ्चामृत बनाउँदा चाहिने पाँच चिजमध्ये एक महले स्वास्थ्य राम्रो त पार्छ तर, मधु यति प्रिय भएर पनि जब शरीरमा ‘मधुमेह’ हुन्छ तब हामी यसबाट तर्सिन्छौं । यसपछि चिन्ता सुरु हुन्छ– लौ कसरी अब जीवन विताउने, के खाने ? के पिउने ?

    अनि छट्पटी हुन्छ । जीवनभर औषधि खानुपर्छ भनेर मन अस्वस्थ हुन्छ । झन् यदि बालबालिकालाई मधुमेह भयो भने त अभिभावकको मन नै भरङ्ग हुन्छ । जुन मधु कहिले प्रिय बन्छ, पञ्चामृतको एक अंश मानिन्छ, त्यही मधु शरीरमा बढी भएपछि चाहिं रोग बन्न जान्छ । कस्तो विसंगति !

    आजकल, चिनी रोगको बारेमा नसुन्ने प्रायः कमै हुन्छन्, टोल–टोलमा मानिस यस्तो समस्याबाट पीडित छन् । यस्तै अवस्था रहिरह्यो भने सायद केही समयपछि हरेक परिवारमा कोही न कोही मधुमेहका रोगी हुनेछन् ।

    केही महिनाअघि क्लिनिकमा १६ वर्षका आयुष मधुमेहको समस्या भएर आए । वैदेशिक रोजगारमा गएकी आमाले छोरालाई माया देखाउन धेरै पत्रु खाना, चकलेट, चिसो पेय पदार्थ दिने रहिछन् । आयुषलाई घरको स्वस्थकर खाना खान बाबुले पनि कर गरेनन् । जब आयुषलाई अनेक समस्या भएर जाँच गर्दा त उनको मोटोपन, अस्वस्थकर खाना, कम्प्युटर र टिभीमा बसिरहने बानीले मधुमेह पो निम्त्याएछ ।

    यति सानो उमेरमा नै मधुमेह भएपछि अभिभावकलाई चिन्ता हुने नै भयो । उनलाई डाक्टरले इन्सुलिन नै दिनुपर्‍यो, यसका साथसाथै स्वस्थ खाना र जीवनशैलीको बारेमा पनि बताइयो । घरका अभिभावकलाई अस्वस्थकर पत्रुखानाले गर्दा आयुषको जीवन नै खतरामा पर्न सक्ने भनेपछि बल्ल चेत आयो ।

    इन्सुलिन दिएर, खानामा सुधार ल्याएर, मोटोपन घटाएपछि आयुषको मधुमेहको अवस्थामा सुधार भयो । सँगै इन्सुलिनको मात्रा पनि घट्दै गयो र बन्द भयो । अहिले आयुष मधुमेहबाट मुक्त छन् । यदि पहिले नै आयुषका अभिभावकले ध्यान दिएको भए किशोर आयुषले समस्या भोग्नै पर्ने थिएन । तर भविष्यमा खानपान र जीवनशैली बिगारेमा पुनः समस्या हुन सक्छ भनेर आयुष सचेत भएका छन् ।

    मधुमेह विभिन्न प्रकारका हुन्छन् । पहिलो, प्रकारको मधुमेहमा शिशुको शरीरमा इन्सुलिन नामक तत्व जसले रगतमा चिनी (ग्लुकोज) लाई नियन्त्रण गर्छ, त्यो अभाव हुन्छ । दोस्रो, प्रकारको मधुमेह प्रायः ४०–५० वर्ष उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनको कारणले धेरैमा हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन ।

    विदेशमा ४० को उमेर भएपछि देखिने यो समस्या नेपालमा अहिले सानै उमेरमा देखिन थालेको छ । आयुष जस्ता किशोर एक उदाहरण मात्रै हुन् । यो नेपालमा जनस्वास्थ्यको एक प्रमुख समस्या हुँदै गएको छ ।

    मिर्गौलाले काम गर्न गाह्रो पार्ने वा काम गर्न छोडेपछि त शरीरका अन्य अंग पनि शिथिल हुँदै जान्छन् । मिर्गौला बिग्रेपछि, जीवन चलाउनलाई मिर्गौला फेर्ने वा डायलासिस गर्ने मात्र उपाय हुन्छ । यी दुवै उपाय सजिला छैनन् । आर्थिक दृष्टिले त झनै महँगो छ र यसले साधारण नेपाली परिवारलाई नै अस्वस्थ बनाइदिन्छ ।

    मोटोपन, मधुमेह र खानपानको कारणले जनस्वास्थ्यमा परेको समस्यालाई लिएर कतिपय देशले चासो देखाउन थालेका छन् । सिंगापुरमा त सन् २०१७ मा प्रधानमन्त्री लीले नै सिंगापुरमा भएको मधुमेहको समस्याका बारेमा बोलेका थिए । त्यहाँ हरेक ९ जनामा एकलाई मधुमेह छ । ६० नाघेका मानिसमा हरेक १० जनामध्ये ३ जनालाई मधुमेह छ ।

    चिसो पेय पदार्थमा ३५५ मिलीमा ११ चम्चा चिनी हुन्छ । ‘हार्वर्ड स्कुल अफ पब्लिक हेल्थ’ले गरेको अध्ययनबाट देखिएको र विश्व स्वास्थ्य संगठनले भने अनुसार, एक दिनमा पुरुषले ९ चम्चा, महिलाले ६ चम्चा चिनी खान भनेर सिफारिस गरेको छ । तर चिसो पेय पदार्थ, केक, कुकिज, बिस्कुट, पाउरोटी आदि खाँदा त योभन्दा धेरै नै चिनी खाइन्छ ।

    साथै अन्य पदार्थ जस्तै फलफूलको रस भनेर स्वास्थ्य बिगार्ने रस पनि चिनीले भरिपूर्ण हुन्छ । जन्मदिनमा स्वास्थ्य राम्रै रहोस् भनेर शुभकामना दिंदा पनि केक दिएर हामी बालबालिकालाई मधुमेहको समस्या बढाइरहेका हुन्छौं ।

    अहिले मधुमेहले ‘बिर्सने रोग’ पनि गराउन सक्छ भनेर अनुसन्धान भइरहेको छ । ‘बिर्सने रोग’ लाई कतिले त ‘मधुमेह तेस्रो’ भन्ने नाम पनि दिएका छन् । निधारको घाउ निको नभएर जचाउन आउँदा बुटवलका १४ वर्षे रमेशलाई थाहा भयो कि उनलाई दोस्रो प्रकारको मधुमेह पो रहेछ । उनले औषधि खाएर मधुमेह नियन्त्रणमा राखेका छन् ।

    यसरी खानपान तथा मोटोपनले गर्दा बालबालिकामा दोस्रो प्रकारको मधुमेह बढ्नु परिवारको लागि दुःख र विडम्बना पनि हो । बच्चालाई माया गरेर चाउचाउ, चिजबल, चिसो पेय दिंदा अभिभावकले कहिल्यै पनि कल्पना गरेका हुँदैनन् कि आफ्नो सन्तानलाई माया होइन अस्वस्थ होस् भनेर रोगको पोको र बोतल दिइरहेका हुन्छन् । रमेश पनि कम्प्युटर, टिभीको लत र पत्रु खानाले गर्दा बिरामी भएका रहेछन् ।

    अहिले नेपालमा अस्पतालमा गर्भावस्थाको जाँच गराउन आएका महिलालाई यौन रोग र मधुमेह दुवैको जाँच गराउने सल्लाह दिइन्छ । यदि समस्या छ भने समयमै उपचार गरेर आमा र शिशु दुवैलाई विकलाङ्ग तथा मृत्युबाट जोगाउन सकिन्छ । तर कति महिला अस्पतालमा, स्वास्थ्यचौकीमा जान सक्दैनन् वा त्यहाँ गएर पनि यसरी जाँच गर्ने भन्ने परामर्श दिइन्न । उनीहरूलाई गर्भावस्थाको मधुमेह छ भने त भविष्यमा बच्चा र आमा दुवैलाई गम्भीर समस्या पर्न सक्छ ।

    मोटोपन भएका मानिसहरू मात्र होइन, स्वस्थकर खाना नभएर, कुपोषण भएकालाई पनि मधुमेह हुनसक्छ भन्ने धेरैलाई थाहा छैन । आमालाई कुपोषण हुँदा पनि उनीबाट जन्मिएको बच्चालाई पछि मधुमेह हुनसक्छ ।

    नेपालमा यसरी कुपोषित आमाबाट जन्मिने बच्चाहरू कति छन् ? गाउँघरमा जन्मिने बच्चाहरूको अवस्था कस्तो छ ? त्यसको बारेमा धेरै चर्चा–परिचर्चा हुँदैन । उपचार गर्न जनकपुरबाट आएकी ३० वर्षकी मुना यादव पातली थिइन् । तर उनमा दोस्रो प्रकारको मधुमेह देखियो । उनलाई कुपोषणको कारणले मधुमेह भएको थियो। सायद उनी कुपोषित आमाबाट जन्मिएकी कुपोषित शिशु नै थिइन् कि !

    युनिसेफको सन् २०१९ को एक तथ्यांक अनुसार विश्वका प्रत्येक तीनमध्ये एक बालबालिका कुपोषणको शिकार छन् । दक्षिणएशियामा भने ५० प्रतिशत बालबालिका खराब कुपोषणको शिकार छन् । ती बालबालिकालाई पछि गएर मधुमेह वा उच्च रक्तचाप हुनसक्ने सम्भावना हुन्छ । अभिभावकले यसमा विचार पुर्‍याउलान् त ?

    ६०–६५ वर्षका एक व्यक्तिले बट्टामा राखेको ‘नरिबल पानी’ र बट्टाको फलफूलको रस एकदम स्वस्थकर हुन्छ भनेर दिनमा ४–५ गिलास पिउँथे । उनका केही साथीले यसरी बट्टामा राखिएको ‘रस’ मा चिनी धेरै हुन्छ, बिगार गर्छ भन्दा उनले पत्याएनन् । उनी ‘होइन यो त साँच्चिकै फलफूलको रस हो भनेर विज्ञापनमा भन्छ, चिनी मिसाएको छैन भन्छ । यस्तोले के खराबी गर्छ र’ भन्थे ।

    तर एकदिन उनले रगत जाँच गर्दा पो चिनीको मात्रा अति बढेको थाहा पाएर चकित भए । म मिठाई, केक, चिनी खाँदै खाँदिनँ, पत्रु खाना खाँदिनँ कसरी मेरो शरीरमा चिनीको मात्रा बढ्यो त भनेर विश्लेषण गरेपछि उनले बुझिहाले कि उनी त फलफूलको ताजा जुस पिएँ भनेर पो चिनी रोगको शिकार हुनथालेका थिए । उनले बट्टाको रस खान छोडे । एक महिनापछि उनको रगतमा चिनीको मात्रा ठीक ठाउँमा आइसकेको रहेछ ।

    केहीअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डा. प्रदीप श्रेष्ठले मधुमेहको समस्याका बारेमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रबाट नेपालमा दोस्रो प्रकारको मधुमेहको जगजगी रहेछ भन्ने देखियो । यो शरीरमा चिनीको मात्रा नियमित गर्ने इन्सुलिन नामक हर्मोनले राम्रोसँग काम गर्न नसकेको अवस्था हो ।

    उनका भनाइमा, दक्षिणएशियामा नै यस्तो दोस्रो प्रकारको मधुमेहको कारण भनेका विभिन्न पत्रुखाना, चाउचाउ, चिप्स, अनेक प्रकारका चिसो पेय पदार्थ, ससेज जस्ता मासुका परिकार हुन् । अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा निस्किएको एक लेख अनुसार, झण्डै एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रु खाना, रेसा नभएका खाना, बिस्कुट आदिको प्रयोग गर्ने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखियो ।

    अनुसन्धानले पत्रुखानामा पनि चुरोट र रक्सी जस्तै लत बस्ने हुन्छ भन्ने देखाएको थियो ।कालिकोटका २४ वर्षे सिर्जन शाही उच्च शिक्षा अध्ययन गर्छन् । उनी विज्ञानमा रसायन शास्त्र लिएर पढ्दैछन् । बिहान भात खाएर हिंडेपछि दिउँसो खाजाको लागि कहिले मम, कहिले चाउचाउ खाने गर्दा रहेछन् । दुई महिनामा ७ किलो वजन घटेर, मुख सुक्खा भएर चिकित्सककहाँ आउँदा त उनी निकै बिरामी देखिन्थे । उनको शरीरमा चिनीको मात्रा सामान्य भन्दा झण्डै पाँच गुणा बढी थियो ।

    उनलाई तुरुन्त उपचार गरियो, इन्सुलिन चलाइयो । खानपिन र जीवनशैली परिवर्तन गर्नुपर्ने कुरामा चाहिं बारम्बार जोड दिइयो । उनले पत्रुखाना खान छोडे, स्वस्थकर खाजा खान थाले, जीवनशैली बदले र इन्सुलिन चलाउन बिस्तारै कम गरियो । अहिले त बन्द नै गरियो । अहिले उनले स्वस्थ भोजन समयमा खान थालेका छन् । उनी डराए तर डाक्टरको सल्लाह राम्रोसँग माने ।

    छुट्टीमा अमेरिकाबाट घर आउँदा ३० वर्षे एक विद्यार्थीलाई चिनी रोग देखियो। अमेरिकामा बस्दा खाना नपकाउने, धेरै पिज्जा, चिसो पेय पदार्थ र फलफूलको बट्टे जुस मात्र खाने रहेछन् । वजन नै १०४ केजी थियो । नेपाल आएपछि अस्वाभाविक रूपले वजन घटेर धेरै थकाइ लाग्ने भएपछि के भयो भनेर जँचाउन आएका थिए । उनको रगतमा चिनीको मात्रा धेरै भएर मिर्गौलामा पनि खराबी आइसकेको रहेछ ।

    दिदीले उनलाई डाक्टरकहाँ ल्याएर जाँच गराएपछि पो उनी झसंग भए । अहिले औषधि र स्वस्थकर खानाले उनको रगतमा चिनीको मात्रा सन्तुलित छ । अमेरिका गएर के गर्ने भन्ने पिर चाहिं छ । यसरी दिनदिनै तन्नेरी मानिसहरू चिनी रोग भएर उपचार नपाउने, अन्धो, मिर्गौला फेल, मुटुमा समस्या, पक्षघात भए देशको भविष्य के होला भन्ने डर छ । यस्ता खर्चिला रोगको शारीरिक, मानसिक र आर्थिक क्षतिको कुनै सीमा नै छैन । यस्ता रोगले परिवारलाई नै तनावमा पार्छ ।

    कारखानामा बनेका खाना खाएर, ख्वाएर रोगको फन्दामा नपर्न हामीलाई अझै पनि समय छ । हामी विकसित मुलुक कहलिएका देशमा झैं पूर्ण रूपमा पत्रुखानाको फन्दामा फसिसकेका छैनौं । घरमा बिहान बेलुका खान्छौं नै ।

    अन्य बेलामा पत्रु खाना नखाएर निरोगी भएर बाँच्न सक्ने सम्भावना पनि छ । विभिन्न गेडागुडी जस्तै सिमी, बोडी, अन्न जस्तै जौ, कोदो, मकै, फापर र हरियो तरकारी, भटमास, बकुला आदि जस्ता स्वस्थकर खाना सस्तोमा पनि पाइन्छ ।

    सरकारले मिर्गौलाको डायलासिस गर्न बिरामीलाई एक हप्तामा दुई चोटिको लागि पैसा दिने नीति बनाएको छ । तर सरकारले मिर्गौला बिग्रन नै नदिन कस्तो किसिमले रोकथाम गर्न सकिन्छ भनेर जनमानसमा प्रचारप्रसार गर्न कुनै कदम चालेको छैन ।

    मिर्गौला, मुटु, फोक्सो आदि स्वस्थ रहेर युवाहरू मधुमेह, उच्च रक्तचाप, पक्षघातबाट पीडित नहुन् भनेर रोकथामको काम नगरिकन केवल मुटु, मिर्गौलाको समस्यामा रोगीलाई अलिकता पैसा दिएर समस्या कति समाधान हुन्छ ।

    मधुमेहको समस्या भए पनि अस्पतालमा आउन नसकेका व्यक्तिहरूको हामीले गणना नै गर्दैनौं । गाउँ–शहर सबै ठाउँमा फैलिएको उच्च रक्तचाप, मधुमेह आदि जीवनशैली र पत्रुखानासँग सम्बन्धित छन् भनेर विज्ञहरूले भनिरहँदा पनि स्वास्थ्य मन्त्रालय रोकथाम गर्न चुइँक्क नबोल्नुको कारण बुझिनसक्नु छ ।

    नेपालका टोल–टोल, वडा–वडामा अस्पताल खोल्ने भनेर अनेक ठूला कुरा गर्ने सरकारले बुझ्नुपर्छ कि अस्पताल र औषधिको भरमा मात्रै जनस्वास्थ्य राम्रो हुँदैन । वडामा अस्पताल खोले पनि हरेक ठाउँमा ‘डायलासिस’ त गर्न सकिन्न, त्यसको खर्च कसले धान्छ ?

    ‘डायलासिस’ गर्ने बिरामीले ‘काम’ गर्न नसक्दा उसको घरको आर्थिक अवस्था कति खराब हुन्छ ? २४ वर्षका मानिसलाई मधुमेह भएर उसको आँखा खराब भएपछि कसरी कहाँ उपचार गर्ने ? पक्षघात भयो भने कसरी परिवारका मानिसहरूले स्याहार गर्ने होला ? यसको बारेमा केन्द्र र स्थानीय सरकारले कहिले विचार गर्लान् ?

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार